भूकम्पका कारण जलविद्युत् क्षेत्र अस्तव्यस्त

२०७२ जेष्ठ १६ गते, शनिबार

काठमाडौँ । गत बैशाख १२ गते गएको विनासकारी भूकम्पले जलविद्युत् क्षेत्रमा १६ अर्ब रूपैयाँभन्दा बढीको क्षति पु¥याएको छ । जसका कारण अब डेढ घण्टासम्म लोडसेडिङ बढ्न सक्ने नेपाल विद्युत् प्राधीकरणले बताएका छन् । प्राधिकरणले सरकारी आयोजनाहरूको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीमा करिब ११ अर्ब रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदन उर्जा मन्त्रालय पठाएको छ ।
त्यसैगरी, निजी प्रवद्र्धकहरूद्वारा सञ्चालित आयोजनाहरूमा ६ अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । यद्यपि सरकारी निकायबाट त्यसको आधिकारिक प्रतिवेदन भने आएको छैन । सरकारी र निजी क्षेत्र दुबैतर्फका आयोजनाहरूको क्षतिबारे पूर्णप्रतिवेदन आउँदा २० अर्ब रूपैयाँसम्म पुग्न सक्ने उर्जा मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन् । भूकम्पका कारण ४५ मेगावाट जडित क्षमताको भोटेकोशी, १० मेगावाट जडित क्षमताको विद्युत् प्राधिकरणको सुनकोशी र २.४ मेगावाट विद्युत् जडित क्षमताको सानिमा हाइड्रोको सुनकोशी आयोजना पूर्णरूपमा ठप्प भएका छन् । ती आयोजनाहरूको जडित क्षमता ५७.४ मेगावाट भए पनि अहिले सुख्खायाम भएकाले २० देखि २५ मेगावाट विद्युत् मात्रै उत्पादन गर्दै आएका थिए । भूकम्पको त्रासका कारण विद्यालय, उद्योग, कलकारखाना तथा विभिन्न कार्यालयहरू अहिले पनि बन्द भएकाले लोडसेडिङ नबढेको हो । जनजीवन सामान्य बन्नेवित्तिकै एकदेखि डेढ घन्टासम्म लोडसेडिङ बढ्नसक्ने विद्युत् प्राधिकरणका उच्च अधिकारीहरू बताउँछन् ।
यसैगरी प्राधिकरणले उत्पादन भएको विद्युत् वितरण प्रणालीमा ९ अर्ब ७१ करोड २१ लाख रूपैयाँ बराबरको क्षति भएको जनाएको छ । पुनर्निर्माण तथा सुदृढिकरण, मिटर जडान र मर्मत कार्यका लागि ५ अर्ब ८६ करोड ६२ लाख ९६ हजार रूपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, सबस्टेसन उपकरण तथा जडान कार्यमा ७ करोड ६५ लाख, भवन पुननिर्माणका लागि ३ अर्ब ७६ करोड ९३ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।
नेपाल विद्युत् प्राधीकरणले विद्युत् प्रसारणलाईनतर्फ ४ करोड ६९ लाख ९४ हजार रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । काठमाडौं ग्रिड महाशाखा अन्तर्गतका क्षतिग्रस्त सबस्टेसनहरूको मर्मतका लागि १ करोड ४८ हजार रूपैयाँ, भार सम्प्रेषण केन्द्र क्षतिग्रस्त सामानहरूको खरिद तथा मर्मत गर्न २ करोड ३४ लाख ४६ हजार रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।
त्यस्तै ग्रिड सञ्चालन विभागअन्तर्गतका महाशाखाहरूको क्षति भएको सबस्टेसनको कम्पाउण्ड, भवनको मर्मतका लागि १ करोड ३५ लाख रूपैयाँ आवश्यक रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । साथै प्राधिकरणले आपूm संलग्न विभिन्न जलविद्युत् आयोजनाहरूमा ७४ करोड रूपैयाँ बराबरको क्षति भएको जनाएको छ । त्रिशुली, देवीघाट, सुनकोशीलगायतका विद्युत् केन्द्रहरूको कन्ट्रोल बिल्डिङको कार्यालय रहेको भवन र आवास भवनलगायतमा २० करोडको क्षति भएको छ ।
त्यस्तै सामान्य क्षति भएका भवनहरूको मर्मतका लागि २ करोड लाग्ने अनुमान गरिएको छ भने सुनकोशी र त्रिसूली जलविद्युत् केन्द्रको नरहमा भएको क्षति मर्मत गरी दुरुस्त राख्न २ करोड लाग्ने अनुमान गरिएको छ ।
कुलेखानीको बाँधमा परेको चिरा टाल्न ५ करोड, कालीगण्डकी बाँधको बाँयापट्टीको पहिरो नियन्त्रण गर्न ५ करोड आवश्यक रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, त्रिसूली ३ ए लगायतका आयोजनाहरूको पहुँचमार्ग पुनर्निर्माण गर्न २० करोड, विभिन्न विद्युत् केन्द्रहरूको सुरक्षात्मक पर्खाल मर्मत गर्न ५ करोड आवश्यक रहेको जनाएको छ ।
यसैगरी विनासकारी भूकम्पले ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना पुरिएको छ । आयोजनाको पावर हाउसमा पानी पठाउने पाइपहरू फुटेर संरचना बगेपछि करिव ५ अर्ब रूपैयाँ बराबरको क्षति भएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले जानकारी दिए । आयोजनाको मुख्य लगानीकर्ता सिप्रदी हो । यो आयोजना पुननिर्माण गरी सञ्चालन गर्न कम्तिमा एक वर्ष लाग्ने दाहालले बताए । वैशाख १२ गते गएको पहिलो झड्काले ठूला ढुंगाहरू झरेर आयोजनाका पाइपहरू कुच्चिएका थिए । दोस्रो दिन गएको भूकम्पबाट झनै ठूला ढुंगाहरू झरेर पाइप ध्वस्त भएको थियो । पाइप ध्वस्त भएपछि करिव ४ किलोमिटर टनेलमा जमेको पानी जोडले पावर हाउसमा पसेपछि आयोजना बगरमा परिणत भएको छ । आयोजनाको पावर हाउसमा अन्डरग्राउन्ड ४ तला रहेको थियो । त्यो ४ तला माथिबाट जोडले आएको लेदोयूक्त पानीले भरिएको छ । पावर हाउसा ठूला ढुंगा र माटोले पुरिएको दाहालले जानकारी दिए ।
यसैगरी विनासकारी भूकम्पका कारण दोलखामा रहेको बहुचर्चित ४५६ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध १७ इन्च भासिएपछि निर्माण कार्य ठप्प भएको छ । यो आयोजनाको क्षतिबारे यकिन तथ्यांक आइसकेको छैन । तर, अरबको हाराहारीमा क्षति भएको अनुमान गरिएको छ । सुरुङलगायतका अन्य संरचनामा क्षति नभए पनि ड्याममा भएको क्षति र श्रमिकहरू आतंकित भएपछि आयोजनाको निर्माण कार्य बन्द भएको छ ।
सो आयोजनाले आगामी केही महिनामा झन्डै डेढ अर्ब रूपैयाँ बराबरको सर्वसाधारण निष्काशन गर्दै थियो । सेयर लागनीमा चासो राख्ने अधिकांश लगानीकर्ताहरूले तामाकोशीको सेयरमा लगानी गर्न रकम जुटाएर बसेका थिए । भूकम्पको प्रभावका कारण आयोजनाको सेयर निष्काशन पनि प्रभाािवत हुने देखिएको छ भने भुकम्पले विद्युत् प्राधिकरणको १० मेगावाट विद्युत् उत्पादन क्षमताको र सानिमा हाइड्रको २.४ मेगावाट विद्युत् उत्पादन क्षमताको सुनकोशी जलविद्युत् आयोजनामा पनि भूकम्पले करोडौंको क्षति पु¥याएको छ । भूकम्पले केन्द्रविन्दु बनाएका सिन्धुपाल्चोक र दोलखाका दुई जिल्लामा दर्जन बढी विद्युत् आयोजनाहरू बन्द भएका छन । भूकम्पले प्रत्यक्ष असर नपु¥याएका आयोजनाहरू पनि कामदारहरू आतंकित भएर काम गर्न नआउँदा सञ्चालन हुन नसकेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु