जयललिता पुन मुख्यमन्त्री

२०७२ जेष्ठ १० गते, आईतवार

काठमाडौं । तमिलनाडुकी नेतृ जयललिता जयारामले पाँचांै पटक तमिलनाडु राज्यको मुख्यमन्त्रीको शपथ लिएकी छन् । भारतको एक अदालतले भ्रष्टाचारको मुद्दामा सफाइ दिएपछि शनिबार चर्चित नेतृ जयललिताले तमिलनाडु राज्यको मुख्यमन्त्रीको शपथ खाएकी हुन् ।पूर्वनायिका समेत रहेकी ६७ वर्षीया जयललितालाई तमिलनाडु राज्यमा मुख्यमन्त्री पदमा रहँदा अनियमितता गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै त्यहाँको एक अदालतले गत सेप्टेम्बरमा दोषी ठहर गरेको थियो । अदालतको फैसलापछि उनी तत्काल पदमुक्त भएकी थिइन् ।
दुई वर्षसम्म चलेको उनीमाथिको मुद्दामा नेतृ जयारामलाई चार वर्षसम्मको कैद सजाय र १ अर्ब रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो । यसै महिनाको सुरुमा उच्च अदालतले उनलाई भ्रष्टाचारको सो आरोपबाट मुक्त गरेको थियो ।सो फैसलापछि जयललितालाई सफाइ दिई पुनः मुख्यमन्त्री बन्ने ढोका खोलिदिएको थियो । मद्रास विश्वविद्यालयमा ठूलो भेलाबीच हरियो सारीमा सजिएकी ललिताले एक भव्य कार्यक्रमबिच शपथग्रहण लिइन् । सो समयमा दुई दर्जनभन्दा बढी मन्त्रीहरूको पनि सहभागिता थियो ।जयललिता जयारामको एआईएडीएमके पार्टी भारतको लोकसभामा तेस्रो ठूलो दलको रूपमा रहेको छ । उनी प्रधानमन्त्री नरेन्द्र मोदीको नजिक समेत मानिन्छिन् । शपथग्रहणको समयमा भारतीय जनता पार्टीका वरिष्ठ नेताहरूको समेत सहभागिता रहेको थियो । तमिलनाडुमा नेतृ जयारामले निकै लोकप्रियता कमाएकी छिन् । सो राज्यमा‘आमा’ नामले समेत बोलाइने ललिताले निकै शक्तिशाली राजनीतिज्ञको रूपमा भारतभर प्रसिद्धि कमाएकी छिन् ।
जयललिता शपथ समारोहमा जाँदा सयौं समर्थकहरू पार्टीको झन्डा बोकेर सडककिनारामा उभिएका थिए भने उनको गाडीअगाडि बढ्दा भिड नियन्त्रण गर्न प्रहरीलाई निकै हम्मे हम्मे भएको थियो । उनको तस्बिरसहित उभिएका समर्थकले नाराबाजी गरेका थिए भने केहीले चक्लेट बाँडेका थिए । स्मरण होस्, उनलाई गत साता अदालतले सफाइ दिँदा पनि खुसियाली मनाइएको थियो ।जयललिताले तमिलनाडुमा ‘अम्मा क्यान्टिन’लगायत निकै लोकप्रिय तर सस्ता कार्यक्रम सञ्चालन गरेकी छिन् । यस कार्यक्रमअन्तर्गत तिन रुपैयाँमा दिउँसोको खाना पाइन्छ ।
गत वर्षको लोकसभाको निर्वाचनमा उनी विद्युतीय ब्लेन्डर, बोका तथा सुनजस्ता उपहार बाँडेर चर्चा र विवादमा आएकी थिइन् ।उनका प्रतिद्वन्द्वी राजनीतिज्ञले सो राज्यमा सन् १९९६ मा उनीविरुद्ध भ्रष्टाचारको आरोप लगाएका थिए । सो समयमा प्रहरीले उनको घरमा छापा मारी २८ किलो सुन, ७ सय ५० जोर जुत्ता तथा १० हजार थान सारी नियन्त्रणमा लिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु