प्रधानमन्त्री सुनकद्वारा संसद विघटन

२०८१ जेष्ठ १० गते, बिहीबार

काठमाडौँ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको जनाएको छ। संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ। यदि तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव भइसकेको हुन्थ्यो। तर सत्तारुढ दलमा रहेको विवादका बीचमा सुनक निर्वाचनमा गएको बताइएको छ।
राजनीतिक वृत्तमा आउँदो वर्षको जनवरीतिर निर्वाचन हुने अड्कलबाजी गरिए पनि प्रधानमन्त्री सुनकले अप्रत्यासित रुपमा निर्वाचन मिति घोषणा गरेका हुन्। उनले निर्वाचनको घोषणा गर्दै बेलायतको आर्थिक अवस्था मजबुद बन्दै गएको उल्लेख गरेका छन्।
सुनकले कन्जरभेटिभ सरकारले राष्ट्रिय स्वास्थ सेवामा खर्च वृद्धि र शिक्षामा प्रगति हासिल गरेकोमा गर्व लागेको बताए।
विपक्षी दल लेबरका नेता केयर स्टारमरले आमचुनाव ‘देशले पर्खिरहेको क्षण’ भएको प्रतिकृया दिएका छन्। उनले आमचुनाव देशमा झन् राम्रो परिवर्तनका लागि अवसर भएको पनि बताए। बेलायतमा आम चुनाव प्रायः बिहीबार हुने गर्दछ। जुलाई ४, २०२४ पनि बिहीबार नै परेको छ। -एजेन्सी

प्रतिक्रियाहरु