हिरासतमा राखिएका सिरोहिया अस्पतालमा भर्ना

२०८१ जेष्ठ १२ गते, शनिबार

काठमाडौँ । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले अहिले सिरोहिया काव्या अस्पतालमा उपचाररत रहेको जानकारी दिए । उनले ,‘उच्च रक्तचापको समस्या देखिएपछि हामीले राति प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँबाट रेफर गरेपछि काव्या अस्पताल लगियो ।’ स्वास्थ्यमा सुधार भएपछि पुनः हिरासतमा लिइने उनको भनाई छ ।
धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलवार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो । सिरोहियालाई प्रहरीले मंगलवार राति धनुषा ल्याएपछि प्रहरीले अदालतमा पेश गर्दा तीन दिनको म्याद थपियो । शुक्रवार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु