मस्त्येन्द्रनाथको भोटो भेटियो

२०७२ जेष्ठ ५ गते, मंगलवार

काठमाडाै‌, ५ जेठ ।गत बैशाख १२ गते गएको विनासकारी भूकम्पले मत्स्येन्द्रनाथको मन्दिर भत्किएर पुरिएको रातो मस्त्येन्द्रनाथको भोटो सोमबार फेला परेको छ। बुङ्मतीस्थित मत्स्येन्द्रबहालमा भोटोलगायत बहुमूल्य गरगहनाहरू मन्दिर अगाडिको भागमा फेला परेको हो। उक्त भोटो हरेक वर्ष जात्राको अन्तिम दिन जावलाखेल र १२ वर्षको एकपटक ललितपुर र बुङ्मतीमा देखाउने प्रचलन छ।जिल्ला प्रशासन कार्यालय, पुरात्तत्व विभाग, गुठी संस्थान, कार्यविनायक नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र ३१ पानेजू संघको रोहवरमा साता अघिदेखि मन्दिरको भग्नावशेष पन्छाउन थालिएको थियो। त्यस क्रममा भोटो राखिएको ‘सेफ’ सुरक्षित भेटिएको हो।३१ पानेजू संघका सचिव विनोदराज पानेजूका अनुसार अन्य २०/३० वटा गरगहना राखिएको सेफ पनि सुरक्षित भेटिएका छन्। उनका अनुसार ९० प्रतिशत गरगहना निकालिसकिएको छ। ‘बाँकी १० प्रतिशत मंगलबार निकाल्ने योजना छ,’ उनले भने।बहुमूल्य धातुहरू जडित भोटो वास्तविक हकदारले सबुत प्रमाणसहित दाबी गर्न नआएसम्म मत्स्येन्द्रनाथको जिम्मामा रहने लोककथन छ। ३१ पानेजूको जिम्मामा रहेको कपडाको थैलीमा सिलबन्दी गरी राखिएको भोटो राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत सरकारका उच्च पदाधिकारीहरू सम्मुख सिल ठीक छ/छैन हेरी जाँची मुचुल्का गरी सिल तोडेर देखाउने गरिन्छ। भोटो देखाइसकेपछि त्यसरी नै सिलबन्दी गरिन्छ। प्रत्येक १५/१५ दिनमा गुठी संस्थानको कर्मचारीको रोहवरमा उक्त भोटो राखेको ‘पचीँ म्हीचा’ नामको थैलीमा राखेको सिल ठीक छ वा छैन जाँची मुचुल्का गरि पालो पर्ने पानेजूको जिम्मा लगाउँदै जाने चलन छ।
भोटोसम्बन्धी परम्परागत किंवदन्तीअनुसार भक्तपुरका कुनै ज्यापू वैद्यले कर्कोटक नाग पत्नीको दुखेको आँखा औषधि गरी निको पारिदिएकाले खुसीमा उपहार दिएको उक्त भोटो खेतमा फुकालेर राखेको बेलामा भूतले चोरेर लगेको थियो।
त्यही भोटो लगाएर मानिसको भेषमा भूत जावलाखेलमा मस्त्येन्द्रनाथको जात्रा हेर्न आएको थियो। त्यतिबेला भोटो मालिक र मानिसको भेषधारी भूतबीच भोटोको विषयमा ‘तेरो–मेरो’ भन्ने विवाद परेको थियो।दुवैले उक्त भोटो आफ्नै हो भनी यकिनका साथ सबुत दिन सकेका थिएनन्। त्यसपछि उक्त भोटोलाई जसले प्रमाणसहित मेरो भनी दाबी गर्छ उसलाई दिइने भन्दै प्रमाणसहित दाबी गर्न नसकेसम्म मस्त्येन्द्रनाथकै जिम्मामा राखिएको हो। त्यही भोटो सबुत छ भनेर प्रत्येक वर्ष रथजात्राको अन्तिम दिन देखाउने पम्परा रहँदै आएको हो। शनिबार राष्ट्रपति रामवरण यादवले मस्त्येन्द्रनाथ भग्नावशेष अवलोकन गरेका थिए।गुठी संस्थान प्रमुख रुद्रनाथ अधिकारीले भेटिएको भोटो राखिएको सेफ सुरक्षा निकायको निगरानीमा सुरक्षित स्थानमा राखिएको बताए।

प्रतिक्रियाहरु