पोखरा महोत्सवको तयारी सम्पन्न

२०७३ पुष २८ गते, बिहीबार

काठमाडौं, २८ पुस । । युनाइटेड क्लबले पोखराको अमरसिंह चौरमा यही पुस २९ देखि माघ १० गतेसम्म सञ्चालन गर्न लागेको सातौँ पोखरा महोत्सवको तयारी सम्पन्न भएको छ । क्लबद्वारा बुधबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचारप्रसार संयोजक तथा क्लबका महासचिव राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार महोत्सवको पुस २९ गते दिउँसो १ बजे अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव सम्पन्न गर्न विभिन्न ३५ वटा उपसमिति क्रियाशील रहेको जानकारी दिँदै क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सुकबहादुर गुरुङले महोत्सवमा दुईसय ४० स्टल रहने बताए । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकला सामानको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधीको प्रदर्शनी एवम् जानकारी आदि रहने र यसपटक नीलगाई, रतुवा मृग, हुचिल, अजिङ्गर, मृग आदि जङ्गली जनावर पनि प्रदर्शन गरिनेछ ।
विगतका महोत्सवकै माध्यमबाट क्लबको सक्रियतामा लेखनाथको पचभैयाँमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय चिडियाखानाका लागि रु २५ लाख नगद सङ्कलन भइसकेको जानकारी दिँदै गुरुङले त्यसका अतिरिक्त महोत्सवबाट बचेको रकमले सेती नदी सरसफाइ, शिक्षा, स्वास्थ्य, खेलकुद आदिमा लगानी गर्ने सोच राखिएको बताए । – रासस

प्रतिक्रियाहरु