९१ वर्षीय वृद्धले सम्मान फिर्ता गरे

२०७१ श्रावण ३१ गते, शनिबार

काठमाडौ । नेदरल्याण्डस्का एक नागरिकले दोश्रो विश्वयुद्धका बेला यहूदी बालकको रक्षा गरेको भन्दै इजरायलले प्रदान गरेको सम्मान फिर्ता गरेका छन् ।
गाजामा भएको हवाई आक्रमणमा आफ्ना ६ जना नातेदार मारिएपछि उनले सम्मानस्वरुप दिइएको मेडल फिर्ता गरेका हुन् ।
९१ वर्षीय हेन्क जानोलीले नेदरल्याण्डमा रहेको इजरायली दुतावासलाई पत्र लेख्दै अब आफूले त्यो सम्मान राखिरहन नसक्ने बताएका बिबिसीले जनाएको छ ।
उहाँका अनुसार इजरायली सेनाले आक्रमण गर्दा गाजामा रहेका आफन्तको घर ध्वस्त भएको र त्यहाँ रहेका सबैको ज्यान गएको छ । जानोलीले पछिल्लो परिस्थितीमा आफूले इजरायली सम्मान राख्नु घटनामा ज्यान गुमाएका आफ्ना आफन्त र चार पुस्ताको अपमान ठहरिने भएकाले फिर्ता गरेका बताउनुभएको छ ।
सन् १९४३ देखि १९४५ सम्म एक जना यहूदी बालकलाई नाजी सेनाबाट लुकाएर आफ्नो घरमा शरण दिएको भन्दै जानोली र उहाँकी आमालाई सन् २०११ मा इजरायलले विशिष्ट सम्मान प्रदान गरेको थियो ।
एजेन्सी

प्रतिक्रियाहरु