३ अर्ब २० करोड मानिस इन्टरनेट चलाउछ्न

२०७२ जेष्ठ १३ गते, बुधबार

काठमाण्डौ, १३ जेठ । अमेरिकाको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन आइटियुको रिपोर्टका अनुसार विश्वको झण्डै आधा जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको छ । रिपोर्टका अनुसार अहिलेसम्म विश्वका ३ अर्ब २० करोड मानिसमा इन्टरनेटको पहुँच पुगेको छ । अहिले विश्वको जनसंख्या ७ अर्ब २० करोड छ ।
यसमा विकासशिल देशका झण्डै २ अर्ब मानिस सम्मिलित छन् । यसै वर्षको अन्त्यसम्म विश्वका आधा जनसंख्या इन्टरनेटको पहुँचमा पुग्ने पनि आइटियुले जनाएको छ । अहिलेसम्म विकसित देशमा ८० प्रतिशत घरमा र विकासशिल देशमा ३४ प्रतिशत घरमा कुनै न कुनै रुपमा इन्टरनेटको सुविधा पुगेको छ । तर विकासशिल देशमध्ये पनि नेपाल र सोमालियामा भने इन्टरनेटको पहुँच निकै कम छ ।
आइटियुका डेभलपमेन्ट ब्युरोका निर्देशक ब्राहिमा सनोऊका अनुसार पछिल्लो १५ वर्ष इन्टरनेटको विकासका लागि महत्वपूर्ण समय बनेको छ । डिजिटल समुदायतर्फ उन्मुख भैरहेको विश्वको विकासका लागि इन्टरनेटले महत्वपूर्ण भूमिका खेल्ने सनोऊको भनाइ छ । सन् २००० मा इन्टरनेट प्रयोगकर्ताको संख्या आजभन्दा ८ गुणाले कम अर्थात ४० करोड मात्रै थियो ।
यसैगरी मोबाइलमा इन्टरनेट प्रयोग गर्नेको संख्या ७ अर्ब पुग्ने आइटियुले अनुमान गरेको छ । अमेरिका तथा युरोपमा एक सयजनामध्ये ७८ जनाले मोबाइलमा इन्टरनेट प्रयोग गर्ने गरेका छन् । विश्वका ६८ प्रतिशत मानिस थ्री डि कबरेजको पहुँचमा छन् भने ग्रामीण इलाकामा मात्र २९ प्रतिशतमात्रै थ्रीडिको पहुँचमा छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु