१५ स्थानमा वायुप्रदूषण मापनयन्त्र राखिने

२०७३ श्रावण १२ गते, बुधबार

काठमाडौं, १२ साउन । काठमाडौं उपत्यका तथा धुलिखेलका विभिन्न १५ स्थानमा वायुप्रदूषण मापनयन्त्र राखिने भएको छ । अहिलेसम्म वायु प्रदूषणको आधिकारिक तथ्यांक प्राप्त गर्ने कुनै निकाय नभएकाले वातावरण विभागले विभिन्न सरोकारवाला निकायसँग सहकार्य गरी उक्त यन्त्र राख्न लागेको हो । विभागका सिनियर डिभिजन केमिस्ट शंकरप्रसाद पौडेलकाअनुसार काठमाडौं उपत्यकामा मच्छेगाउँ, पुल्चोक क्याम्पस, रत्नपार्क, भक्तपुर, खुमलटार, चन्द्रागिरी, कपन, टेकु, धुलिखेललगायतका स्थानमा मापनयन्त्र राख्न लागिएको हो । केही दिनभित्रै रत्नपार्क, पुल्चोक र धुलिखेलमा पहिलो चरणअन्तर्गत् उक्त यन्त्र राखिने उनले बताए ।
हाल अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड)मा दुई, विभागमा तीन र दिगो सहरी यातायात आयोजनामा चारओटा वायु प्रदूषण मापनसम्बन्धी प्रयोगमा नआइसकेका उपकरण रहेका छन् । पौडेलले भने–‘सम्पूर्ण उपकरण समयमा नै आउने हो भने हामीले सबै स्थानमा यही वर्षको कात्तिक महिनासम्ममा वायुप्रदूषण मापनयन्त्र जडान गरिसक्ने छौं ।’
काठमाडौं उपत्यकामा ६० प्रतिशत वायुप्रदूषण सवारी–साधनबाट हुने गरेको विभागको अध्ययनबाट देखिन्छ । एक अन्तर्राष्ट्रिय अध्ययनले विश्वका दुई हजार ९७३ वायुप्रदूषण उच्च रहेको सहरमध्ये काठमाडौं २६१ नम्बरमा पर्ने देखाएको छ । – रासस

प्रतिक्रियाहरु