१५ दिनभित्र सूचना उपलब्ध गराउनु पर्छ : बाँस्कोटा

२०७२ माघ २० गते, बुधबार

काठमाडौं, २० माघ । राष्ट्रिय सूचना आयोगले आज नेपाल सरकारका सबै विभागका महानिर्देशकहरुसँग सूचनाको हकको प्रभावकारी प्रचलनका लागि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले विभागहरुले पालना गर्नुपर्ने २० बुदे दायित्व माथि प्रकाश पारे । उनले सबै सरकारी विभागले नागरिकको सूचनाको हकको सम्मान गर्नुपर्ने, सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने, सूचनाको वर्गिकरण गर्नुपर्ने, वीस वर्षसम्मका सूचना अद्यावधिक गर्नुपर्ने र ३-३ महिनामा आफ्नो निकाय सम्बन्धी विवरण सार्वजनिक गर्नुपर्ने कुरा बताए । यसैगरी उनले कर्मचारीलाई सूचनाको हकसम्बन्धी तालीम दिनुपर्ने, आफ्ना काम–कारवाही खुला र पारदर्शि तुल्याउनु पर्ने, आफ्ना सामाग्री विभिन्न संचार माध्यम र भाषामा प्रकाशित प्रशारित गर्नुपर्ने, सूचना अधिकारी तोक्नु पर्ने र सूचना मागकर्तासँग विनयशीलतापूर्वक व्यवहार गर्नुपर्ने कुरा बताए ।
प्रमुख आयुक्त बाँस्कोटाले आफ्नो कार्यपत्रमा सूचना माग गरेको १५ दिनभित्र उपलब्ध गराउनु पर्ने, अयाोगको आदेश पालना गर्नुपर्ने, सूचना दिँदा भरसक दस्तुर नलिने, सूचना दाताको संरक्षण गर्ने र आफ्नो विभागलाई सूचना प्रवाहमा उत्कृष्ट निकाय प्रमाणित गर्न ईमान्दार प्रयास गर्न आग्रह गरे । सो कार्यक्रममा सूचना आयुक्त किरण पोखरेलले लोकतन्त्रको प्राणवायुका रुपमा रहेको सूचनाको हकको प्रचलनबाटै लोकतन्त्रको उत्कृष्टता मापन हुने कुरा बताए ।
अर्का सूचना आयुक्त यशोदा तिम्सिनाले सरकारी विभागहरुले नागरिकका पक्षमा जारी भएका छुट, सुविधा, राहत र सेवा प्रवाहको विवरण आम जनताको जानकारीमा पु-याउन आग्रह गरिन । कार्यक्रममा आयोगका सचिव शरदराज विष्टले संविधान र कानुनले निर्दिष्ट गरेको दायित्व पालना गर्न आग्रह गरे । कार्यक्रममा सबै सरकारी विभागका महानिर्देशक र उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रियाहरु