हावाबाट पानी निकाल्ने बाकस !

२०७५ असार ९ गते, शनिबार

काठमाडौँ, ९ असार । ‘मरुभूमिमा पानी’ सुन्नमा अनौठो लाग्छ । किनकि पानी र मरुभूमि दुई विपरीत ध्रुवजस्तै हुन् । तर मरुभूमिमा पानी सम्भव हुने भएको छ । अमेरिका र जोर्डनसँग सम्बन्ध राख्दै आएका वैज्ञानिक उमर याघीले एउटा अनौठो बाकस तयार पारेका छन्, जसले मरुभूमिमा हावाबाट पानी उत्पादन गर्न सक्छ ।यो प्रक्रियाका लागि विद्युत आवश्यक पर्दैन । यसलाई संसारको जुनसूकै मरुभूमिमा पनि प्रयोग गर्न सकिने जनाइएको छ ।याघी भन्छन्, ‘विश्वमा एक तिहाई जनसंख्या पानी अभाव भएको क्षेत्रमा बस्छन्, यस्तोमा यो प्रविधिले पानीको समस्यालाई केही हदसम्म समाधान गर्न सक्छ ।’
हावाबाट पानी निकाल्ने यो बाकसको भित्री भागमा धातुबाट बनेका अन्य बाकस पनि हुन्छन् । भित्र रहेका बाकसमा ‘मेटल अर्गानिक फ्रेमवर्क’ को एउटा तह हुन्छ । ‘मेटल अर्गानिक फ्रेमवर्क’ एउटा नयाँ प्रकारको पदार्थ हो, जसलाई वैज्ञानिक याघीले नै तयार पारेका हुन् । ‘मेटल अर्गानिक फ्रेमवर्क’ धुलोजस्तै देखिन्छ । यसले राति मरुभूमिमा निस्कने वाफलाई आफूतिर तान्छ । विशेष बाकसको भित्री भागमा रहेका बाकसमध्ये प्लास्टिकको बाकसलाई रातको चिसोपन तान्नका लागि खुला छाडिन्छ । दिउँसो भने यसको बिर्को बन्द गरिन्छ । सुर्यको प्रकाशमा यसले ‘ग्रीन हाउस’ को काम गर्दछ ।
गर्मीका कारण ‘मेटल अर्गानिक फ्रेमवर्क’बाट वाफ निस्कन थाल्छ । यही वाफबाट निस्किएको पानी बाकसभित्र जम्मा हुन थाल्छ । यसरी निस्किएको पानी पाइपको माध्यमबाट जम्मा गर्न सकिन्छ ।
याघीलाई नयाँ नयाँ प्रविधि आविस्कार गरेकोमा विभिन्न सम्मान प्रदान गरिएको छ । उनले एरिजोना मरुभूमिमा यो विशेष प्रकारको बाकसको सफल परीक्षण गरिसकेका छन् । त्यहाँ प्रतिकिलोमिटर दुई सय मिलीलिटर पानी संकलन गरिएको थियो । यो बाकसबाट उत्पादित पानी शुद्ध हुने भएकाले सोझै पिउन सकिने बताइएको छ । यो बाकसलाई आल्मुनियमबाट बनाइएको ‘मेटल अर्गानिक फ्रेमवर्क’ मा पनि परीक्षण गर्ने तयारी भइरहेको छ । यो ‘मेटल अर्गानिक फ्रेमवर्क’बाट पानी संकलन दर दोब्बर हुने र खर्चसमेत कम हुने अपेक्षा गरिएको छ । -बीबीसी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु