हङकङमा नयाँ सुरक्षा कानुन !

२०७७ जेष्ठ १५ गते, बिहीबार

काठमाडौँ, १५ जेठ । चीनको संसदले हङकङको नयाँ सुरक्षा कानुन पारित गरेको छ । पारित नयाँ कानुन अनुसार अब चीनको केन्द्रीय सरकारविरुद्ध गरिने कामकार्वाहीलाई अपराध मानिने छ । संसदबाट पारित विधेयक चिनियाँ पार्टीको वरिष्ठ नेतृत्वसमक्ष पेश गरिने छ । यस कानुन लागू भएसँगै हङकङले पाएको विशेष स्वायत्तताको अधिकार समाप्त हुने बताइएको छ ।
हङकङ प्रजातन्त्र र नागरिक अधिकार प्रयोगमा मिलिरहेको अर्धस्वतन्त्रता पनि यो कानुनले नामेट बनाउने अमेरिकालगायत पश्चिमा राष्ट्रहरुले आरोप लगाइरहेका छन् । तर चिनियाँ नेतृत्व भने त्यो स्वीकार्न तयार छैन । यस कानुनले चीनलाई हङकङभित्र आफ्नो सुरक्षा अंग गठनका लागि अनुमति दिनेछ । यस प्रावधानले हङकङको स्वायत्तता छिन्ने भन्दै प्रजातन्त्र र नागरिकअधिकार पक्षधरहरुले हङकङमा लगातार प्रदर्शन गर्दै आएका छन् ।
गत वर्ष लामो समय प्रदर्शनमा उत्रिएपछि हङकङस्थित चिनियाँ समर्थित प्रशासकले उक्त विधेयक फिर्ता लिएका थिए । तर यस पटक हङकङवासी कोरोनाको लकडाउनमा बसेका बेला विधेयक ल्याइयो र पारित गराइयो । हङकङ प्रशासनको यस कदमविरुद्ध त्यहाँ प्रदर्शनहरु भएपनि यस पटक चिनियाँ इच्छा बमोजिमको कानुन बन्ने बाटो खुलेको हो । पछिल्लो पटक चिनियाँ राष्ट्रगानको अनादर गरिए अपराध मानिने विधेयकको पनि प्रदर्शनकारीले विरोध गरेका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु