सूचीलाई दिएको सम्मान फिर्ता

२०७५ कार्तिक २७ गते, मंगलवार

काठमाडौं , २७ कार्तिक । मानवअधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सूचीलाई दिएको आफ्नो सर्वोच्च सम्मान ‘एम्बासडर अफ कन्साइन्सस अवार्ड’ फिर्ता लिएको छ । नोबेल पुरस्कार विजेता सूचीलाई एमनेस्टी इन्टरनेसनले सन् २००९ मा यो सम्मान प्रदान गरेको थियो । त्यसबेला सूची आफ्नै घरमा नजरबन्दमा थिइन । उनलाई दिइएको सम्मान फिर्ता लिँदै एमनेस्टीले रोहिंग्या अल्पसंख्यकका विषयमा सूचीले गरेको काम निराशाजनक रहेको जनाएको छ । ७३ वर्षीय सुचीलाई दिइएको सम्मान फिर्ता गरिएको यो पहिलो पटक भने होइन ।
एमनेस्टी इन्टरनेसनलका महासचिव कुमी नाइडूले म्यानमारका नेतालाई पत्र पठाउँदै उनलाई दिइएको सम्मान फिर्ता लिएको जानकारी गराएका हुन् । पत्रमा सूचीले मानवअधिकारको रक्षाका लागि सही अडान लिन नसकेको र उनको कदमले संगठन निराश भएको उल्लेख गरिएको छ । रोहिग्या अल्पसंख्यकका विरुद्ध भएको अत्याचारप्रति सुचीको रुखो व्यवहारले आफूहरु उहाँलाई दिएको सम्मान फिर्ता गर्न बाध्य भएको एमनेस्टीले जनाएको छ । योसँगै उनले आफ्नो कदमलाई सच्याउने अपेक्षासमेत एमनेस्टीले गरेको छ । सूची नजरबन्दबाट रिहा भएको ८ वर्ष पुगेकै दिन एमनेस्टीले उनलाई दिएको सम्मान फिर्ता गरेको हो । क्रुर सैन्य शासनविरुद्ध र लोकतन्त्रको रक्षाका लागि १५ वर्षसम्म नजरबन्दमै रहेर संघर्ष गरेकी सूचीलाई एमनेस्टी इन्टरनेसनलले सन् १९८९ मा राजनीतिक बन्दी घोषित गरेको थियो । यसको ठीक २० वर्षपछि संस्थाले उनलाई सर्वोच्च सम्मान दिएको थियो । यसअघि एमनेस्टीले यो सम्मान नेल्सन मण्डेलालाई पनि दिएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु