सुत्केरीको मृत्युपछि अस्पतालका सबै चिकित्सक बिदामा

२०७६ असार २ गते, सोमबार

काठमाडौं, २ असार । उपचारका क्रममा चिकित्सकको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको आरोप लागेपछि डडेल्धुरा उपक्षेत्रीय अस्पतालका ११ जना चिकित्सक एकै पटक बिदामा बसेका छन् । चिकित्सकको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको आरोप लागेपछि सुरक्षाको प्रत्याभूति माग गर्दै डाक्टरहरू ललिल सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभास लामिछाने, विकास दुवाडी, विभव बस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डबल बुढा एकै पटक बिदामा बसेका हुन् । उनीहरूले मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कँडेललाई आफूहरू बिदामा बसेको सूचना विज्ञप्तिमार्फत् दिएका छन् ।
अमरगढी नगरपालिका–६ की २५ वर्षीया गीता ताम्राकारको शनिबार शल्यक्रियाको क्रममा मृत्यु भएपछि स्थानीयले अस्पतालमा प्रदर्शन गरेका थिए । सुत्केरी भएको १७ दिनपछि रक्तश्राव भएर उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका थिए । अहिले चिकित्सक लगायत अस्पताल कर्मचारीहरुलाई स्थानीय सरोकारवालाहरुको मौखिक आग्रहमा डाक्टरहरुले काममा फर्कने प्रतिबद्धता जनाए पनि अस्पतालको अवस्था भने अझै तनावपूर्ण नै रहेको छ ।

प्रतिक्रियाहरु