‘सुगौली सन्धि’ देशले गुमाएको भूभाग र आत्मनिर्णयको अधिकार – बलराम तिमल्सिना

२०७६ श्रावण १९ गते, आईतवार

सुगौलीसन्धिमा नेपालले जम्मा दुई कुरा गुमायो । एउटा केही वर्षको युद्धबाट कब्जा गरिएको माचीदेखि टिष्टासम्म र महाकालीदेखि काङ्गडासम्मको भूभाग र दोश्रो देशको आत्म निर्णयको अधिकार । पहिलो कुरा उपरोक्त भूभागहरू हाम्रा परम्परागत भूभाग नभएर केही वर्षका युद्धबाट जितिएका विस्तारित भूभाग थिए । राज्यको त्यो स्तरको विस्तार न्यायका दृष्टिले सही थियो कि थिएन भन्ने अलग्गै विवेचनाको विषय हो । किन कि तरवार लिएर लड्दै जाँदा जहाँसम्म जितिन्छ त्यहाँसम्म जायज हुन्छ भन्ने निस्कर्ष निकाल्ने हो भने चङ्गेज खाँ, हिटलर, अंग्रेज लगायतका भूभाग कव्जा र साम्राज्य निर्माणका घटनाहरूलाई पनि स्वीकार गर्नु पर्ने हुन्छ । हामीले विस्तार गर्नु ठीक अर्कोले गर्नु बेठीक भन्ने कुरा कुतर्क मात्रै हो । सुगौली सन्धि दुई युद्धरत पक्षको शक्ति संतुलनको उपज थियो । शक्ति सन्तुलनमा अंग्रेज हावी भयो र यतापट्टिको तात्कालीन गोर्खा राज्यले आपूmले भर्खरै कमाएका भूभाग गुमाउन पुग्यो । युद्धद्वारा जमीन जित्ने त्यो प्रकृयामा गोर्खा राज्यले थोरै बचाएर अरु जमीन अंग्रेजलाई बुझायो ।
सुगौली सन्धिबाट नेपालले वास्तवमै गुमाएको भनेको देशको आत्म निर्णयको अधिकार हो । सुगौली सन्धिपछि हामीसँग जति भूभागको देश थियो, त्यो देशले आत्मनिर्णयको अधिकार नगुमाएको भए आज यही सानो देश पनि सम्पन्न र शक्तिशाली हुने थियो । आज नेपाल गरीव भएको टिस्टा काङ्गडाको जमीन नभएर होइन, वरु सुगौली सन्धिमा नेपालले आफ्नो राष्ट्रिय अस्मिता पनि गुमाएको र त्यस यताको नेपालका शासकहरू पहिले अंग्रेज र पछि अंग्रेजका उत्तराधिकारी भारतका दलाल भएर हो ।
त्यसैले नेपालीहरूले अहिले उठाउनु पर्ने वैज्ञानिक प्रश्न भनेको टिष्टा काङ्गडाको होइन, वरु मेची महाकाली भित्रको सीमाको रक्षा, कालापानी, सुस्ता, मानेभन्ज्याङ आदिको प्रश्न र नेपालको आत्म निर्णयको अधिकारको प्राप्तिको हो । अहिले टिष्टा काङ्गडा फिर्ता ल्याउन लडौं भन्ने कुरा ऐतिहासिक र व्यवहारिक दुवै हिसावले सही छैन । त्यसको सट्टा कालापानी र सुस्ता बचाउन लडौं, भारतले लगाएका सिमानाका बाँध भत्काउन लडौं, कोशी, गण्डकी र महाकालीमा भएका अपमानजनक सन्धिका विरुद्ध लडौं भनियो भने त्यो सामयिक र वैज्ञानिक हुन्छ । नेपालको मामलामा भारतले गर्ने सूक्ष्म व्यवस्थापन र हस्तक्षेपका विरुद्ध लडौं, भारतीय दलालहरूबाट देशको शासनसत्ता खोसौं भन्दा आन्दोलन सही दिशातिर सोझिन्छ । त्यसो नगरेर टिष्टा काङ्गडाको कुरा उठाउँदा आँखै अगाडिका समस्याहरू छोपछाप हुन पुग्छन् र हामी असमाधेय घनचक्करमा फस्छौँ ।

प्रतिक्रियाहरु