‘चुनाव : राजनीतिक संघर्षको एउटा मोर्चा हो’

२०८१ बैशाख २८ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनाव राजनीतिक संघर्षको एउटा मोर्चा भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशद्वारा शुक्रबार आयोजित राजनैतिक , बैचारिक प्रशिक्षण तथा अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले चुनाबलाई नयाँ मोर्चाको रुपमा लिनुपर्ने बताउदै २०८४ को चुनावलाई मिसन समाजवादका रुपमा र साम्राज्यवादको लडाईको मोर्चाका रुपमा बुझ्नु पर्ने बताए । उनले भने- “हामीले बिगतमा चुनावको प्रयोग गरेका पनि छौं, बहिष्कार पनि गरेका छौं,क्रान्ति र समाजवादी व्यवस्था निर्माणको आन्दोलनमा यिनका आ- आफ्ना सन्दर्भ र अनुभव छन्। हाम्रो मुख्य उदेश्य समाजवाद हो,दलाल व्यवस्थाको अन्त्य गर्ने कुरा हो , त्यसका लागि चुनाव पनि एउटा मोर्चा हो, यसबारे परम्परागत रूपमा मात्रै सोचेर हुँदैन”


महासचिव विप्लव सीले चुनावलाई समाजवादका लागि प्रयोग गर्नुपर्ने बताउँदै पार्टीले संघर्ष गर्दा श्रृंखलाबद्ध गर्नुपर्ने बताउदै भने- ” चुनाव पनि क्रान्तिकै मोर्चा हो यसलाई विगतमा कार्यनीतिक प्रयोग वा रणनीतिक प्रयोग भनेर विभाजन गरेर बुझ्ने चलन थियो अब त्यसरी हुन्न, त्यो पुरानो तरिका हो,साम्राज्यवाद अहिले नयाँ ढङ्गले आएको छ, ऊ कम्युनिस्ट आन्दोलनविरुद्ध समग्र युद्दको नीति लिएर आइरहेको छ, त्यसैले हामीले पनि संघर्षको समग्र तरिका प्रयोग गर्न आवश्यक छ ।”
महासचिव विप्लव सी ले साम्राज्यवादले आफ्नो उदेश्य पूरा गर्न कतिपय देशमा कम्युनिस्ट पार्टी भित्रै घुसपैठ गरेर समाजवादी आन्दोलनलाई असफल पार्ने गरेको भन्दै आफुहरुले नेपाली विशेषताको समाजवादी क्रान्तिलाई सप्पन्न गर्न र संघर्षको समग्र तरिका अन्तर्गत चुनावलाई लिएको बताए । उनले नेपालमा अहिले भारत र अमेरिकाले कम्युनिस्टहरु बिरुद्ध भित्रबाट पनि खाने र बाहिरबाट पनि खाने नीति लिएको भन्दै देशभक्त, कम्युनिस्ट, समाजवादी र लोकतान्त्रिक शक्तिको मोर्चा अनिवार्य रहेको बताए।
महासचिव विप्लव सीले देशको परिस्थिति अत्यन्तै अस्थिर र गम्भीर रहेको , आन्तरिक राजनीति निकै गिजोलिएको भन्दै यसले नेपालको अर्थतन्त्र, सांस्कृतिक र सामाजिक क्षेत्रमा गम्भीर प्रभाव परिरहेको बताए । उनले पार्टीले साम्यवादी व्यवस्था स्थापना गर्नका लागि चार मित्र शक्ति, चार मित्र वर्ग र ६ मित्र समुदायको अवधारणा ल्याएको उल्लेख गर्दै चार मित्र शक्तिमा कम्युनिस्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी रहेको बताए । साथै पार्टीले यी शक्तिलाई एक ठाउँमा ल्याउन जोड गर्ने निर्णय गरेको बताए । उनले चार मित्र वर्गमा किसान, मजदुर, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्ग रहेको र ६ मित्र समुदायमा जनजाति, खस आर्य, श्रमिक समुदाय, मधेस, मुस्लिम र महिला रहेको उल्लेख गर्दै उनीहरूसँगको सहकार्यमा मात्र नेपालको नयाँ राजनीतिक परिदृश्य निर्माण हुने बताए ।
यसैगरी, महासचिव विप्लव सीले माओवादी धारलाई रुपान्तरण गर्दै एकतामा ल्याउनुपर्ने र कम्युस्टहरुको एकता गर्ने प्रयत्न गर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य माइला सी को अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई पोलिटब्यूरो सदस्य कृति , आजद र कान्छाराम सी ले सम्बोधन गरेका थिए भने उक्त कार्यक्रमको संचालन केन्द्रिय सदस्य बिकल्प सीले गरेका थिए ।

प्रतिक्रियाहरु