सीसी क्यामराको माध्यमबाट ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही

२०७४ फाल्गुन २ गते, बुधबार

काठमाडौं, २ फागुन । तपाइँले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी–साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सीसी क्यामराको माध्यमबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी–साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । महाशाखाले माघ २४ गतेदेखि उक्त प्रक्रियालाई तीव्रता दिएको हो ।
ट्राफिक व्यवस्थापनका लागि महाशाखामा राखिएको सीसी क्यामरा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको सीसी क्यामरामार्फत् ट्राफिक नियम उल्लंघन गर्ने सवारी–साधनलाई निगरानीमा लिएर कारबाही गर्न सुरु गरिएको हो । दुई वर्षपहिलेदेखि महाशाखाले सीसी क्यामराको माध्यमबाट सवारी–साधनलाई नियन्त्रणमा लिएर कारबाही गरे पनि अब भने ट्राफिक नियम उल्लंघन गर्ने सवारी–साधनलाई घरमै चिठी पठाउन लागेको हो । महाशाखाले नियम मिच्ने सवारी–साधनलाई सीसी क्यामराबाट नम्बरप्लेटको निगरानी गरेर नियम मिच्ने सवारी–साधनको विस्तृत् विवरण हेरेर घरमा नै पत्र काट्न थालेको हो ।
महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी चालकले जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि महाशाखाले चालकको घरमा नै चिठी पठाएर कारबाही प्रक्रिया अगाडि बढाएको बताउँछन् । ‘सबै ठाँउमा ट्राफिक पुग्न सक्दैन, जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि दुर्घटना धेरै हुने भएकाले हामीले कारबाहीलाई तीव्रता दिएका हौं’–उनी भन्छन् । सीसी क्यामरामार्फत् महाशाखामा एक हप्ताको समयमा ३१ जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ । जसमध्ये तीनजनालाई फोनमार्फत् महाशाखामा बोलाएर कारबाही गरिएको र बाँकीलाई चिठी काट्ने तयारी भइरहेको सहप्रवक्ता मसासिनीले जानकारी दिए । यो आर्थिक वर्षको माघ मसान्तसम्म उपत्यकामा पाँच लाख ३३ हजार १९९ सवारी–साधनले सवारी नियम उलंघन गरेको महाशाखाले जनाएको छ । यस अतिरिक्त ट्राफिक नियम उलंघन गर्ने सवारी–साधनलाई प्रमाणसहित जो–कोही व्यक्तिले महाशाखामा उजुरी दिएमा कारबाही गरिने भएको छ । आफू चढेको सवारी–साधनले जथाभावीरुपमा हर्न बजाएमा, तीव्र गतिमा सवारी चलाएमा वा लेन अनुशासन पालना नगरेको फोटो, भिडियो महाशाखामा दिएमा महाशाखाले कारबाही गर्ने जनाएको छ । सवारी–साधन धेरै र सडक साँघुरो भएका कारण काठमाडौं उपत्यकामा धेरै दुर्घटना हुने गरेको छ ।
काठमाडौं उपत्यकामा एक हजार ५९४ किलोमिटर सडक भएपनि सवारी–साधन गुड्ने व्यस्त सडक ४७२ किलोमिटरमात्र छ । उपत्यकामा हाल एक हजार ८५ जनशक्तिले ३८ ट्राफिक एकाइबाट ट्राफिक व्यवस्थापन गर्दै आएका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता वीरेन्द्रबहादुर स्वाँर काठमाडौं उपत्यकामा ११ लाख र देशभर २८ लाख सवारी–साधन सन्चालनमा रहेको बताउँछन् । ‘साँघुरो सडक र धेरै सवारी–साधनका कारण उपत्यकाको सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ’–उनी भन्छन् ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनाल चालकले ट्राफिकको आँखा छलेर ट्राफिक नियम उल्लंघन गरेका घटना बढेपछि महाशाखाले यो अभियान सुरु गरेको बताउँछन् । ‘एउटा चालकको बदमासीका कारण अरु राम्रा चालकले पनि बदमासी नगरुन् भनेर हामी उक्त कारबाही अभियान सुरु गरेका हौं’–उनी भन्छन् ।
यसअघि, महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि जथाभावी धुवाँ फाल्ने सवारीदेखि जथाभावी हर्न बजाएर हिँड्ने सवारी–साधनलाई कारबाही गर्नुका साथै सडकमा सवारीचालकलाई ट्राफिक शिक्षा प्रदान गरिसकेको छ । -अच्युत रेग्मी (रासस)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु