श्रम कानुनमा सुधार गर्ने कतारको घोषणा

२०७४ कार्तिक ९ गते, बिहीबार

काठमाडौं, ९ कात्तिक । कतार सरकारले अन्तर्राष्ट्रिय श्रम संगठनको बैठकभन्दा ठिक एक दिन अगाडि आफ्नो श्रम कानुनमा सुधार गर्ने निर्णय गरेको छ।
यसअन्तर्गत कतारमा काम गर्ने श्रमिकले प्राप्त गर्ने पारिश्रमिकको न्युनतम दर तय गरिनेछ । अन्तर्राष्ट्रिय समुदायमा कतारमा काम गरिरहेका नेपालीसहितका आप्रवासी मजदुरको स्थिति नाजुक रहेको विषयमा कतार सरकारको निन्दा भइसकेको छ।
अन्तर्राष्ट्रिय मजदुर संगठनले पनि कतारलाई आप्रवासी मजदुरको शोषण बन्द गर्न चेतावनी दिइसकेको छ । कतारमा करिब चार लाख बढी नेपाली कार्यरत छन् । उनीहरु विभिन्न कम्पनीका उच्चदेखि निम्न पदमा काम गरिरहेका छन् ।
इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेशनका महासचिव शरन बुरोले कतारको यो निर्णयलाई ‘असली सुधार’ बताएका छन् ।
कतार सरकारले डिसेम्बर २०१६ मा कफाला प्रणाली अन्त्य गरिसकेको छ। जसअन्तर्गत कामदारलाई रोजगारी दिने वा देश छोड्नुअघि कम्पनीबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । यसपछि अब कतारले नयाँ श्रम कानुनमा सुधारको घोषणा गरेको हो ।
इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेशनका अनुसार कतार सरकारले आफ्नो श्रम कानुनमा यस्ता परिवर्तन गरेको छ।
–सबै कामदारका लागि न्युनतम मजदुरी (उ जुनसुकै नश्लको होस) ।
–कम्पनिहरुले कामदारलाई कतार छोड्नबाट रोक्न सक्ने छैनन् ।
–कामदारलाई पहिचानपत्र कम्पनीले नभएर सरकारले नै जारी गर्नेछ ।
–एउटा केन्द्रीय संस्थाले सबै कामदारलाई सम्झौताअनुसार पाउने सुविधामाथि अनुगमन गर्नेछ ।
कतार र साउदी अरेवियाबीच कुटनीतिक संकटका क्रममा कतारमा काम गरिरहेका मजदुरहरुले आफ्नो चिन्ता प्रकट गरेका थिए ।
यसका साथै मानवअअधिकारवादी संगठन एमनेस्टी इन्टरनेशनलले सन् २०१६ मा कतारमा २०२२ मा विश्वकपका लागि निर्माण भइरहेको स्टेडियममा मजदुरमाथि शोषण गरिरहेको र उनीहरुलाई जबरजस्ती काम गराइरहेको आरोप लगाएको थियो ।
एमनेस्टीका अनुसार मजदुरहरुलाई फोहोर स्थानमा बस्न बाध्य पारिएको र उनीहरुलाई रोजगारी दिँदासमेत ठुलो रकम गरिएको छ । साथै मजदुरहरुको पारिश्रमिक र राहदानी जफत गरेको आरोप पनि एमनेस्टीले लगाएको थियो ।
एमनेस्टीले दक्षिण एसियाका २३१ आप्रवासी मजदुरसँग कुरा गरेर यस्तो आरोप लगाएको हो । यसमा १३२ स्टेडियम र ९९ जना स्पोर्टस कम्प्लेक्समा काम गरिरहेका मजदुर थिए । खलिफा स्टेडियममा फलामको काम गर्ने एक जना भारतीय मजदुरले एमनेस्टीलाई आफूहरुलाई कयौ महिना बिना वेदन काम लगाएको र गुनासो गर्दा मालिकले आफूलाई धम्काएको बताएका थिए । भारतीय मजदुरले भनेका थिए–उनीहरु मलाई कराइरहन्छ र भने–यदि मैले फेरि गुनासो गरेको खण्डमा कहिल्ये कतार छोडेर जान नसक्ने बताए । – एजेन्सी

प्रतिक्रियाहरु