विप्लव–प्रकाण्डमाथि नयाँ मुद्दा लगाउने प्रपञ्च

२०७५ श्रावण ३१ गते, बिहीबार

काठमाडौं, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डमाथि थप मुद्दा लगाउने प्रपञ्च सुरु भएको छ । पार्टीको कामको सिलसिलामा हैटौडाबाट काठमाडौं फकँदैँ गर्दा यही साउन २२ गते चोभारबाट साँझ गिरफ्तार भएका प्रवक्ता प्रकाण्डलाई अहिलेसम्म काठमाडौं जिल्ला अदालतबाट चौथोपटक म्याद थप गर्दै अनुसन्धानमा राखिएको छ । यसैबीच सरकारले थप नयाँ मुद्दा दर्ता गरेको हाे ।
महानगरीय काठमाडौं प्रहरी परिसर टेकुमा राखिएका प्रकाण्डलाई आजै (बिहीबार) बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाईका लागि सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ । उनीमाथि सरकारले ‘चन्दा उठाएको’ अभियोग लगाएको छ । उनीसँगै गिरफ्तार गरिएका उनका स्टाफ हरिचन्द्र आचार्य र गाडी चालक मानबहादुर श्रेष्ठलाई पनि सोही अभियोग लगाइएको छ । साथै साउन २६ मा ललितपुरको सानेपा डेराबाट गिरफ्तार नेकपाकै कार्यकर्ता लोकेन्द्र दर्नाल ‘प्रमेश’लाई पनि चन्दा अभियोग लगाइएको छ ।
यसरी झुठा मुद्दा लगाउने षडयन्त्रस्वरुप तथ्यहीन अभियोग लगाएको भन्दै गिरफ्तार सबै नेताकार्यलाई निसर्त रिहाईको माग गर्दै त्यसका विरोधमा नेकपाका महासचिव नेत्रविक्रमचन्द ‘विप्लव’ले एक प्रेस विज्ञप्ति जारी गरेर साउन २९ गते नेपाल बन्दको घोषणा गरे । महासचिव विप्लवले बन्द सफल पार्न सघाउने सबै पक्षलाई धन्यवादज्ञापन समेत गरेका छन् ।
काठमाडौंमा यसो चलिरहँदा उता कालिकोटमा हिजो मात्र साउन २९ गतेका दिन बम विस्फोट गराएको भन्दै सोही विषयलाई आधार बनाएर कालिकोट जिल्ला प्रहरी कार्यालयले महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहित ६ जना नेता–कार्यकर्ताविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको छ । उनीहरुविरुद्ध ‘संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन’ अन्तर्गत कार्यालयले बुधबार जिल्ला अदालत कालिकोटमा उक्त मुद्दा दर्ता गरेको हो । नेपाल बन्द अवधिमा भने प्रकाण्ड प्रहरी हिरासतमा थिए । उनीमाथि पनि विस्फोट मुद्दा लगाइएको छ ।
सो कुराको पुष्टी जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले गरेका छन् । शर्माका अनुसार मंगलबार नेकपाले गरेको नेपाल बन्दका क्रममा कर्णाली राजमार्गको कालेखोला र सदरमुकाम मान्मस्थित मालपोत र नापी कार्यालयको हाताभित्र कुकर बम बिस्फोट गराएको अभियोग उनीहरुविद्ध लगाइएको हो ।
मुद्दा महासचिव ‘विप्लव, पोलिटब्युरो सदस्य भरतबहादुर बम ‘रणवीर’, पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य धीरेन्द्र उपाध्याय ‘भृकुटी’, जिल्ला ईन्चार्ज लोकजंग शाही ‘समर’, महिला नेतृ शान्ति विक ‘क्रान्ति’ विरुद्ध छ । विस्फोटकै बेला गिरफ्तार गरिएका कासे दर्जीलाई अहिले प्रहरीले हिरासतमा राखिराखेको छ ।
बिस्फोटमा संलग्न कासे दर्जीसहित नेकपाका उच्च नेताविरुद्धको मुद्दामा जिल्ला अदालत कालिकोटले सात दिन म्याद थप गरेको छ । अदालतले उनीहरुलाई पक्राउ पूर्जी पनि जारी गरेको छ ।
उता नेकपाले भने सरकारमा रहेका दलहरु र नेपाली जनताको परिवर्तनको आकांक्षा र क्रान्तिमाथि गद्दारी गरेर फोहोरी संसदीय व्यवस्थामा आत्मसमर्पण गर्न पुगेका मान्छेहरुले पूर्वाग्राही बनेर राजनीतिक प्रतिशोध साँधेको र सरकारमा बसेर देशलाई गृहयुद्धतर्फ धकेल्न उद्यत रहेको बताएको छ । नेकपा नेता कार्यकर्तामाथि लगाइएको सम्पूर्ण झुठा मुद्दा फिर्ता गरेर राजनीतिक चरित्र प्रदर्शन गर्न सरकारसँग नेकपाले आग्रह गरेको छ ।
‘सामाजिक दलाल सरकारले नेकपाविरुद्ध जस्तोसुकै प्रपञ्च र षडन्यत्र रचेपनि फरक नपर्ने, बरु यसले राष्ट्रिय स्वाधीनता र नेपाली जनताको राजनीतिक अधिकार प्राप्तिको लडाईँलाई अगाडि बढाउन ऊर्जा प्रदान गर्नेेछ’ एक केन्द्रीय सदस्यले भने । परिवर्तन र क्रान्तिकारीमाथि प्रतिक्रियावादीहरुले सधैं झुठा आरोप लगाएर आफ्नो लुटको सत्ता जोगाउने कोशिस गर्दै आइरहेको इतिहास नेपाली जनताले राम्ररी बुझिसकेको विषय भएको उनको भनाई छ । अहिले क्रान्तिको गतिमा परी दलाल पूँजीवादी र संसदवादीहरुको लुटको सत्ता भत्किँदै गइरहेको समेत उनले बताए । झुठा मुद्दा क्रान्तिले मेटाउँदै लैजाने उनको तर्क छ ।
हिजै नेकपाको पूर्वीकमाण्ड ईन्चार्ज अनिल शर्मा ‘विरही’ले पार्टीको केन्द्रीय सदस्य एवं सगरमाथा ब्यूरो ईन्चार्ज दिपेश राई र केन्द्रीय सदस्य एवं कोशी ब्यूरो ईन्चार्ज किरण राई, युवा संगठनका नेता राकेश किरण, चन्द्र बुढाथोकीलाई सुतिरहेको अवस्थामा सुनसरी धरानबाट मध्यरातमा अपहरण अपहरण शैलीमा गिरफ्तार गरी अवस्था अज्ञात राखेको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।
सरकार देशलाई गृहयुद्धतर्फ धकेल्न उद्यत रहेको भन्दै बुधबार एक प्रेस विज्ञिप्त जारी गरेर गिरफ्तारको भत्सर्ना गरेका छन् । गिरफ्तार सबै नेताहरुलाई अविलम्ब रिहा गर्न विरहीले जोडदार माग गरेका छन् । बद्लाभाव त्याग्न समेत नेकपाले सरकारसँग आग्रह गरेको छ ।
नेकपाका पोलिटब्यूरो सदस्यहरु पदम राई ‘विकास’, ओमप्रकाश पुन, कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ साथै केन्द्रीय सदस्यहरु देवनारायण साह र टेकबहादुर केसी ‘आजाद’ विगत दुई महिनाभन्दा लामो समयदेखि थुनामा राखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु