लादेनका छाेरा मारिएकाे पुष्टि

२०७६ भाद्र २९ गते, आईतवार

काठमाडौं , २९ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल-कायदाका संस्थापक नेता ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन वासिङ्टनको कारबाहीमा मारिएको पुष्‍टि गरेका छन् । ह्वाइटहाउसद्वारा जारी गरिएको संक्षिप्त विज्ञप्तिमा ट्रम्पले भनेका छन्, ‘अल-कायदाका बरिष्ठ सदस्य एवं ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन अमेरिकाले अफ्गानिस्तान/पाकिस्तान क्षेत्रमा गरेको प्रतिआतङ्कवाद कारबाहीमा मारिएका छन् ।’
गत महिना गुप्तचर स्रोतहरूलाई उद्धत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले उनी हवाई हमलामा मारिएको जनाएका थिए । अमेरिकी अधिकारीहरुले नै हम्जा मारिएकाे बताएका थिए तर कहाँ र कहिले उनी मारिए भन्ने कुरा भने खुलाइएको थिएन । अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो। हम्जा बिन लादेन आफ्ना बुवाको स्थान लिनेगरी अल कायदाको नेताका रूपमा उदाइरहेको बताइएको थियो । लगभग ३० वर्ष उमेर अनुमान गरिएका हम्जाले अमेरिकालगायत विभिन्न देशमा आक्रमण गर्ने जानकारीसहितको अडियो र भिडियो मेसेज सार्वजनिक गरेका थिए । उनले आफ्जा बाबु मारिएकाेमा अमेरिकासँग बदला लिने याेजना बनाइरहेकाे खुलेकाे थियाे ।
त्यसपछि गत फेब्रुअरीमा अमेरिकी सरकारले हम्जाबारे जानकारी दिनेलाई १ मिलियन डलर उपहारको घोषणा गरेको थियो । हम्जाले अबर प्राय:द्वीपका जनतालाई विद्रोह गर्न आह्वान गरेका थिए । साउदी अरेबियाले भने गत मार्च महिनामा उनको नागरिकता खोसेको कुरा बाहिर आएकाे थियाे । हम्जका बाबु बिन लादेनलाई अमेरिकाकाे विशेष सैन्य दलले सन् २०११ को मेमा पाकिस्तानकाे एबाेट्टावादमा हत्या गरेको थियो । सन् २०११ मा ओसामा बिन लादेनको पाकिस्तानस्थित एबटाबाद घरबाट भेटिएका केही दस्तावेजले हम्जा बिन लादेनलाई अल कायदाको नेतृत्वका लागि तालिम दिँदै गरिएको जानकारी पाइएको अमेरिकाले बताएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु