रुसविरुद्ध ताजा प्रतिबन्ध लगाउने पक्षमा मतदान

२०७४ श्रावण ११ गते, बुधबार

काठमाडौं, ११ साउन । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टिेटिभ्सले रुसविरुद्ध ताजा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ ।प्रतिनिधिसभामा भएको मतदानमा पक्षमा ४१९ मत पर्दा विपक्षमा जम्मा ३ मत मात्र पर्‍यो । नयाँ कानुनले रुससँग सम्बन्ध सुधारको क्रममा रहेका राष्ट्रपति ट्रम्पलाई अफ्ठ्यारो पार्ने देखिएको छ ।
यद्यपि, राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गर्नु अघि प्रस्ताव सीनेटले पनि पारित गर्नुपर्नेछ । ट्रम्प भने प्रतिबन्ध लगाउने कानुनको विपक्षमा छन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा डेमाक्र्याट र रिपब्लिकन दुबै पार्टीका सांसद कानुनका सम्बन्धमा एकमत छन् । नयाँ कानुनले रुस विरुद्धको प्रतिबन्ध हटाउने राष्ट्रपति ट्रम्पको अधिकारलाई निकै सीमित पार्नेछ । नयाँ कानुनविरुद्ध उहाँले भिटो प्रयोग गर्न सक्ने भए पनि यसले उनलाई क्रेमलिनको सहयोगीको रुपमा थप अप्ठेरो पार्ने विश्लेषण गरिएको छ ।
गत वर्षसम्पन्न अमेरिकी चुनावमा रुसी प्रभावको मुद्दा ट्रम्पलाई पहिलो छ महिनाको कार्यकालमा सबैभन्दा असर पार्ने विषय बनेको छ । रुसले आरोप अस्वीकार गरे पनि अमेरिकाका विभिन्न निकायले अनुसन्धान गरिरहेका छन् । युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफूमा विलय गराएपछि रुसले अमेरिकाको विभिन्न प्रतिबन्ध भोगिरहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु