रितबहादुर , पक्राउ पूर्जी र जुठेल्नाका कीरा – बलराम तिमल्सिना

२०७६ जेष्ठ ५ गते, आईतवार

आदरणीय सहिद
प्यायो भाइ
तिम्रो सहादतको खवर सुनेपछि
लेखेको थिएँ मैले-
‘पींडाले जल्लाजस्तो छ छात्ती
मुटु फुट्लाजस्तो छ वेदनाले !’
तिम्रो सहादतको सत्र वर्षपछि आज
त्यो वेलाका सुप्रिम कमाण्डर छन
सत्ताको जुठेल्नोमा
र सत्ताले पठाएको छ
तिम्रो नाममा पक्राउ पूर्जी !

प्रिय सहिद !
तिम्रा सहयोध्दाहरू
टुक्रा टुक्रामा छन अचेल !

कोही,
पूर्व सुप्रिम कमाण्डरसँगै
सत्ताको जुठेल्नो खोस्रिदै छन्
र जुठा हड्डीमा लाप्पा खेल्दै छन !

कोही,
हार्डवेयर पसलमा
सकेट खोजिरहेछन
फ्युज, जिलेटिन र डिटोनेटर भेला गर्दै छन् !

कोही,
जोखाना हेर्दै छन
र यो ऐतिहासिक दुखको कारण खोज्दै छन् !

धेरै जसो त अरवतिर
अर्को गाँस बासको युध्द लड्दै छन् !

तिमी ढलेको सत्र वर्षपछि
तिमीले नै बोक्ने गरेकै झण्डा बोक्नेहरू
सत्ताको जुठेल्नामा छन
ती विश्वासघाती कीराहरू
तिम्रो नाममा पूर्जी टाँसिएको
निरिह बनेर हेर्दै छन् !

प्रिय सहिद !
पूर्ण विरामले भनेजस्तै-
‘अलपत्र परेको युध्दको हालत’
यस्तै यस्तै हुने रहेछ
यस्तै यस्तै भैरहेछ !

प्रिय चम्किलो तारा !
जुन दिन ल्यायौं भनेर गर्व गर्छौं हामी
त्यही दिनको बिहानीले
घामको नाममा पक्राऊ पूर्जी टाँसेपछि
यो हामी वाँचिरहेको समय
साँच्चै विहानी हो कि मध्य रात हो ?
हामी सोच्न वाध्य भएका छौं !

शङ्कर लामा र गङ्गा कार्कीहरू
हातमा पक्राउ पूर्जी बोकेर
झोक्राइरहेका छन जुठेल्नामा
अव तिनीहरू के गर्छन ?
मान्छेहरू उत्सुकतापूर्वक
हेरिरहेछन उनीहरूतिर !

प्रतिक्रियाहरु