मोदीले पशुपतिमा ‘विशेष पूजा’ गर्ने

२०७१ श्रावण १२ गते, सोमबार

काठमाडौं । आगामी साता नेपाल भ्रमणमा आउँन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आएका बेला पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन्। उनले गर्ने पूजाका लागि ब्राह्मणसहितको टोली भारतबाटै आउँदैछ। पशुपति क्षेत्र विकास कोषका अनुसार भारतीय प्रधानमन्त्री मोदीले साउन १९ गते सोमबार मन्दिरमा करिब आधा घन्टा पूजा गर्नेछन्। काठमाडौंस्थित भारतीय दूतावासको टोलीले मोदीको पशुपतिनाथ दर्शनबारे शनिबार कोषलाई औपचारिक जानकारी दिएको थियो।
‘केही ब्राह्मणसहित ५०/६० जनाको टोली भारतीय प्रधानमन्त्रीसँगै उतैबाट आउने जानकारी आएको छ,’ कोषका सदस्य–सचिव गोविन्द टन्डनले आइतबार नागरिकसँग भने।
प्रधानमन्त्री मोदी साउन १८ गते आइतबार नेपाल भ्रमणमा आउँदैछन्। त्यही क्रममा पशुपतिनाथमा विशेष पूजा गर्ने कार्यक्रम रहेकाले कोष व्यवस्थापन त्यसैको तयारीमा जुटेको छ।
सदस्य–सचिव टन्डनका अनुसार पशुपतिमा मोदीले मूलभट्टबाट विशेष पूजा गराउनेछन्। भगवान शिवको महिनाका रूपमा चिनिने साउनको प्रत्येक सोमबार पशुपतिमा दर्शनार्थीहरूको भिड हुन्छ। ‘दर्शनार्थीलाई कुनै प्रभाव नपारिकन मोदीले दर्शन गर्ने भारतीय दूतावासले जनाएको छ, त्यहीअनुसार बन्दोबस्त मिलाउन हामी खटिएका छौं,’ उनले भने, ‘तैपनि यसबाट अन्य दर्शनार्थीको पूजा करिब आधा घन्टा अवरुद्ध हुन सक्छ।’
विशेष पूजा हुने दिनको टुंगो लागिसके पनि समय खुलाइएको छ। ‘यति नै बजे भनेर तय भएको छैन, बिहानको समयमा दर्शनका लागि आउने पक्का भएको छ,’ सदस्य–सचिव टन्डनले भने।
मोदी आउने आधिकारिक जानकारी पाएपछि कोषले पशुपति क्षेत्रमा रंगरोगन, बगैंचा निर्माणलगायत सजावटका कामलाई तीव्रता दिएको छ। टन्डनका अनुसार भारतीय दूतावासले पनि त्यहाँको अवस्था निगरानी गरिसकेको छ। सुरक्षा व्यवस्था भने सरकारले गर्नेछ।
‘हामी प्रधानमन्त्री मोदीलाई निकै चासोका साथ कुरिरहेका छौं,’ टन्डनले भने, ‘केही सहयोग घोषणा भए यहाँका मठमन्दिरको पुनर्निर्माण र संरक्षण हुन सक्छ।’
दूतावासले पशुपतिनाथ क्षेत्रमा धर्मशाला बनाउन १२ वर्षअघि जग हालेको थियो। विभिन्न कारणले निर्माण अघि बढ्न नसकेको टन्डनले बताए। ‘उहाँ (मोदी) को भ्रमणपछि निर्माण कार्य सुरु हुने विश्वास गरेका छौं,’ उनले भने। यसअघि भारतका १३ औं प्रधानमन्त्री आइके गुजरालले पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए।

प्रतिक्रियाहरु