मपविश्वविद्यालय उपकुलपति र रजिस्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा

२०७१ भाद्र १० गते, मंगलवार


काठमाडौ, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. पदमलाल देवकोटासहित १६ जनाविरुद्ध सोमबार भ्रटाचारको मुद्दा दायर गरेको छ। पूर्वाधार निर्माण, शिक्षक तथा कर्मचारी नियुक्ति, खरिद प्रक्रियालगायतमा विश्वविद्यालयको सम्पत्ति (कोष) हिनामिना गरेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अभियुक्तमध्ये १४ जना अख्तियारको हिरासतमा छन् भने दुई फरार छन्। मुद्दा दायर गरिएकामा उपकुलपति देवकोटा, रजिस्ट्रार डा. ठकेन्द्रप्रकाश गिरी, सेवा आयोगका अध्यक्ष प्रा.डा. नवराज कँडेल, सेवा आयोगका सदस्य प्रा. डा. श्रीरामप्रसाद उपाध्याय, विज्ञान प्रविधि संकायका डिन तथा कार्यकारी परिषदा सदस्य डा. केशरसिंह राना, मानविकी तथा सामाजिक संकायका डिन पीताम्बर ढकाल, व्यवस्थापन संकायका डिन डा. मस्तबहादुर गरन्जा, शिक्षा विज्ञान संकायका डिन लालमणि आचार्य र इन्जिनियरिङ संकायका डिन प्रा. रामचन्द्र अर्याल छन्। विश्वविद्यालयका उपप्राध्यापक गणेशबहादुर रावत र सुधन गौली, लेखा नियन्त्रक कमल केसी, अनुगमन अधिकृत पारसराम गिरी, सहायक प्रशासक जीवनकुमार थापा र गगनसिंह बोहरा, वरिष्ठ सहायक गणेशबहादुर केसीविरुद्धसमेत मुद्दा दायर गरिएको छ। अख्तियारले १ करोड ८९ लाख ८६ हजार ४८ रुपैयाँ अनियमितता गरेको भन्दै उनीहरूलाई त्यही बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर गर्न र त्यत्ति नै रकम जरिवाना तिराउन तथा हदैसम्मको जेल सजाय गर्न अभियोगपत्रमा मागदाबी गरिएको छ। विशिष्ट श्रेणीका पदाधिकारीहरूको हकमा ऐनको दफा २४ बमोजिम थप सजायसमेत माग गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रियाहरु