भारतीय वायुसेनाको विमान बेपत्ता

२०७६ जेष्ठ २१ गते, मंगलवार

काठमाडौं, २१ जेठ । भारतीय वायुसेनाको बेपत्ता भनिएको एक विमानको अवस्था २० घण्टा बित्दासमेत पत्ता लाग्न सकेको छैन । सोमबार स्थानीय समयानुसार दिउँसो करिब एक बजेबाट सम्पर्कविहीन भएको विमानको अवस्था अझै पत्ता लाग्न नसकेको हो । असमको जोराहटबाट अरुणाचलको मेनचुकाका लागि उडेको सो विमानमा १३ जना सवार रहेको बताइएको छ । विमान बेपत्ता भएलगत्तै सोमबार रातिसम्म र मंगलबार बिहानैदेखि खोजी तथा उद्धारका लागि विभिन्न टोली परिचालन गरिए पनि विमानको अवस्था पत्ता लाग्न नसकेको भारतीय अधिकारीहरुले जनाएका छन् । विमान खोजीका लागि स्थल र हवाई मार्गमा समेत टोली परिचालन गरिएको छ । वायुसेनाको एएन–३२ विमानमा चालक दलका ८ सदस्य र पाँच यात्री रहेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार वायुसेनाको सो विमान चिनियाँ सीमा क्षेत्र नजिकै बेपत्ता भएको हो । विमान दुर्घटनाको आशंका गरिए पनि खोजतलासमा हेलिकप्टरसहित परिचालन गरिएको टोलीले त्यस्तो कुनै प्रकारको अवशेष फेला पार्न नसकेको जनाइएको छ । एएन–३२ विमान जस्तोसूकै प्रतिकुल मौसममा पनि उडान गर्न सक्षम मानिन्छ । यसको प्रयोग कम तथा मध्यम दूरीमा सैन्य बन्दोबस्तीका सामान ओसार्न तथा सैनिक टोली ओसार्न बढीमात्रामा हुने गरेको छ । दुई इन्जिन भएको यो विमान एक सयभन्दा बढी संख्यामा भारतसँग रहेको बताइन्छ । हालसम्म भारतीय वायुसेनाका यस्ता ९ वटा विमान दुर्घटना भइसकेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु