भारतमा नेपाली युवाको हत्या

२०७५ भाद्र २० गते, बुधबार

काठमाडौं,२० भदौ । भारतको अरुणाञ्चलमा एक नेपाली युवाको निर्मम तरिकाबाट हत्या गरिएको छ । उनको हत्या दिउँसै गरिएको हो । रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ७ (साविक लखनपुर गाविस–९) पुँडीका वर्ष ३८ को अमृत सिं तामाङ (च्याङवा)को हत्या गरिएको हो । यही भदौ १७ गते बेलुका करिब ४ बजे अरुणाञ्चल प्रदेशको लोएर डिवाङ भ्याली जिल्लाको रोइङ्गमा स्थानीय गुण्डा जत्थाले निर्मम तरिकाले कुटपिटपछि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।
रोइङ्गको ८ किलोस्थित आवुक लाङटमको जग्गा वार्षिक भाडामा लिई परिवारसहित विगत डेढ वर्षदेखि कृषी पेशा गर्दै आइरहेको तामाङको धारिलो हतियार प्रहारबाट मृत्यु भएको हो । कुखुराको दाना खरिद गर्न आइतबार दिउँसो साढे ३ बजेतिर बासस्थानदेखि डेढ किलोमिटर टाढाको पसल पुगेर फर्कने क्रममा तामाङलाई तीन–चार जनाको स्थानीय गुण्डा समूहले घेरा हाली घरेलु हतियार दाै र छुरीले प्रहार गरी लडाएको अवस्थामा फेला परेको थियो । प्रहारबाट उनको टाउको पछाडिको भागमा गहिरो काटिएको थियो भने छाती र घाँटीमा गहिरो चोट लागेको थियो । गुण्डाहरुले नगद समेत लुटेर लगेका छन् ।
घटनाको खबर बेलुका ५ बजेतिर पाएको र लगत्तै परिवार र अाफन्तले घटनास्थल पुगेर घाइतेलाई एम्बुलेन्सबाट रोइिङ्गस्थित मेडिकलमा पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल आसामको डिब्रिकोट अस्पतालमा रेफर गरे । अस्पताल मेडिकलदेखि झण्डै ५ घण्टा टाढा अासाम राज्यमा पर्दछ । तर अस्पताल पुग्न नपाउँदै बिच बाटोमै राति १० बजेतिर तामाङको मृत्यु भएको खबर अाफूले पाएको काठमाडाैंमा रहेका मृतकका दाजु वीरबहादुरले जानकारी दिएका छन् ।
घटनाको विवरण स्थानीय प्रहरीले संकलन गरिलगेको रोइङबाट मृतकका अाफन्त बुद्ध लामाले जानकारी दिएका छन् । मृत्यु हत्याबाटै भएको लामाले बताए । ‘मृतकको टाउको पछाडिको भागमा गहिरोसँग काटिएर अत्याधिक रगत बगेर थियो । छातीभरि गहिरो निलडाम र अनुहारभरि चोटैचोट थियो । हामीले भेटाउँदा अलिअलि सास थियो । एम्बुलेन्समा अस्पताल लैजाँदै गर्दा पुर्याउनै नपाई बिचबाटोमै प्राण गयो’ मृतककी श्रीमतीको भनाइ उदृत गर्दै उनले भने । घट्ना भएको चार दिन बितिसक्दा पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेका छैनन् । अनुसन्धान र खोजी कार्य भइरहेको र हत्यारा पत्ता लगाई कारवाही गरिछाड्ने आश्वासन प्रहरीले दिएको उनले बताए ।
मृतकका ४० वर्षीया श्रीमती, वर्ष १३ की छोरी निशा, वर्ष ६ र ५ का अमिर र अनिल छन् । निशा रामेछाप घरमै छिन् भने दुई छोरा र श्रीमती अहिले रोइङ्गै छन् । उनीहरु त्यहाँ अदुवा खेती आइरहेका छन् । हत्याको पुष्टि मृतकका दाजु वीरबहादुरले गरेका छन् । ‘मेरो भाई अमृतलाई रोइंङ्गमा आइतबार बेलुका गुण्डाहरुले हतियार प्रहार गरी हत्या गरेको कुरा फोनबाट थाहा पाएँ । आफ्नो नागरिकको सुरक्षा राज्यले गर्नुपर्छ’ काठमाडौंमा रहेका वीरबहादुरले भने ‘भाईको हत्यारा पत्ता लगाई कारवाही गर्न नेपाल र भारत सरकारसँग मेरो जोडदार माग गर्दछु ।’
श्रीमानको हत्या पत्ता लगाएर कारवाही गर्न अरुणाञ्चल र भारत केन्द्र सरकारसँग श्रीमती कान्छी तामाङले माग गरेकी छन् । कुराकानीको क्रममा भावविह्ल हुँदै श्रीमती तामाङले भनिन् ‘निर्दोष मेरो श्रीमानको हत्या भएको छ । हत्या गर्नेलाई तुरुन्त पक्री कारवाही गर्नुपर्छ । कारवाही नगरेसम्म कसरी बाँचु ?’ आफ्नो नागरिकको हत्या हुँदासमेत नेपाल सरकार चुपचाप बसेको भन्दै हत्यारा पत्ता लगाई कडा सजायँ दिलाउन सरकारसँग माग गरिन् । यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुमाथि हत्या, लुटपाट, कुटपिट र अपहरण श्रृंखला कायम रहेको भन्दै नियन्त्रण गरेर शान्तिसुरक्षाको वातावरण बनाउन अरुणाञ्चल सरकारसँग त्यहाँ रहेका नेपालीहरुले माग गरेका छन् ।
त्यस्तै १५ दिनेपहिले मात्र नेपाली २६ वर्षीय सार्कु लिम्बूको स्थानीय गुण्डा समूहले धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । लिम्बूको हत्यारा पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन । रोइङ्ग, तेजुलगायत अरुणाञ्चलका विभिन्न क्षेत्रमा गरी करिब २ लाखको संख्यामा नेपालीहरु झण्डै ६ दशकदेखि बुंगुर, बाख्रा, खसी, कुखुरा, खेतीबाली र मजदुरी गरेर जीवन निर्वाह गर्दै आइरहेका छन् । यो स्थान आदिवासी (ट्राइव)को बाक्लो बसोबास रहेको क्षेत्र हो । घटना भएको दिन ट्राइवको स्थानीय चाड सोलुङको दिन परेको थियो । हत्याबारे स्थानीय प्रहरीले सम्पूर्ण मुचुल्का संकलन गरेर लगिसकेकाे र सोमबारै बौद्ध धर्म संस्कारअनुसार मृतकको दाहसंस्कार गरिएको छ ।

प्रतिक्रियाहरु