बैशाख ५ देखि बुङमति महोत्सव

२०७१ चैत्र १२ गते, बिहीबार

काठमाडौं,१२ चैत । ललितपुर उद्योग वाणिज्य संघले रातो मत्स्येन्द्रनाथको प्रसिद्ध १२ वर्षे मेलाको अवसरमा बुङमति महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव बैशाख ५ देखि ९ गतेसम्म आयोजना हुने बताइएको छ । महोत्सवमा ओझेलमा परेका प्राचिनकालका विभिन्न परम्परा, संस्कृति, बाजागाजा, नाच तथा सा्रस्कृतिक प्रस्तुति प्रस्तुत गरिने संयोजक प्रेमभक्त महर्जनले बताए ।
महोत्सवको मूख्य उद्देश्य लोप हुन लागेका मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्नु रहेको छ । संयोजक महर्जनका अनुसार विभिन्न कला संस्कृति बुङ्गमतिका विभिन्न स्थानहरुमा प्रदर्शन गरिने छ ।मेलामा खेलकुद, व्यापारिक स्टल, स्थानीय जीवनशैली, स्थानीय परम्परागत खाना, फोटो प्रदर्शनी, मत्स्येन्द्रनाथ सम्बन्धी विशेष प्रदर्शनी रहने संघका अध्यक्ष अजरमान जोशीले बताए । उनका अनुसार मेलामा करिब ७० वटा विभिन्न किसिमका स्टलहरु रहने छन् ।मेला अवलोकनका लागि ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रेलगायत देशका विभिन्न स्थानबाट देशी तथा विदेशी पर्यटकहरु आउने विश्वास आयोजकको छ ।

प्रतिक्रियाहरु