बीस वर्षे पुराना जिपलाइ प्रतिबन्ध लगाइने

२०७१ असार २६ गते, बिहीबार


काठमाडौँ। सिद्धार्थ यातायात व्यवसायी समिति भैरहवाले आगामी साउनदेखि २० वर्षे पुराना जिपहरु हटाउने भएको छ । सरकारले नै २० वर्षे पुराना गाडी हटाउने निर्णय गरिसकेको अवस्थामा आफूहरुले उक्त नियमको कडाइका साथ पालना गराउँदै साउन १ गतेबाटै चल्न नदिने निर्णय गरेको समितिका अध्यक्ष दीपकराज शर्माले बताए ।
समितिका अध्यक्ष शर्माले विसं २०६३ मै प्रत्येक वर्ष पाँचवटा जिप विस्थापित गर्ने निर्णय भए पनि सवारीधनीहरु विस्थापित गराउन पुराना जिप लिएर नआएपछि एकै पटक हटाउने निर्णयमा पुगेको हो भने । “यत्रो वर्षमा सात÷आठवटाभन्दा बढी जिपहरु विस्थापित गराउन सकेनाँै, अहिले सबैतिरबाट हटाउन दबाब आएकाले पनि निर्णय फेरबदल हुँदैन”–उनले भने । यी पुराना जिपहरुले उच्च प्रदूषण गर्ने र कतिपयका इन्जिनसमेत थोत्रा भइसकेकाले ब्रेकले समेत काम नगर्ने भइसकेका छन् । जसका कारण दुर्घटनासमेत बढेका छन् ।
समिति र पुराना जिपधनीहरुबीच बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको छलफलमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पनि पुराना जिप हटाउने समितिको नियर्णलाई सघाउने बताउँदै साउनभित्रै सहमति गरेर आउन दुवै पक्षलाई आग्रह गरे । “अझ पनि समय छ, पहिला तपाईंहरु सहमति गरेर आउनुस्, तपाईंहरुबीच सहमति भएन भने म निर्णय गर्छु, त्यो निर्णय पुराना जिपधनीहरुले पनि मान्नुपर्छ”–प्रमुख जिल्ला अधिकारी पन्थीले भने ।
सरकारले लुम्बिनीलाई पर्यटन हवका रुपमा राखेर पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्यण गरेपछि सिद्धार्थ यातायात समितिले पनि पुराना जिपहरु विस्थापित गरी सुविधायुक्त सवारीसाधन भित्र्याउने योजनाअनुसार अगाडि बढेको हो । अहिले खासगरी अनमोडलका ती पुराना जिपहरु भैरहवा, सुनौली, लुम्बिनी, मर्चवार, छपिया क्षेत्रमा सञ्चालन हँुदै आएका छन् ।
यी जिपहरु विस्थापित गरी नयाँ सवारीसाधन ल्याउनका लागि समितिले पुराना सवारीधनीहरुलाई सहुलियतसमेत दिने भएको छ । अध्यक्ष दीपकराज शर्माले पुराना सवारीसाधन विस्थापित गरी नयाँ सवारी दर्ता गर्न आउने सवारीधनीलाई समितिले लिने दर्ता शुल्क छुट गर्ने र अन्य सम्भव भएसम्मका सुविधा दिन तयार भएको भए पनि अझ केही वर्ष वा महिना चल्न पाउनुपर्छ भन्ने पुराना जिपधनीका माग स्वीकार्य नभएको बताए ।
समितिमा झन्डै ६ करोड बराबरका १५० वटा पुराना जिप सञ्चालनमा छन् । यी सवारी हटाएपछि नयाँ सवारी ल्याउँदा समितिले पर्यटन व्यवसायीको मागलाई समेत सम्बोधन गर्ने गरी सुविधायुक्त स्तरीय सवारीसाधन भित्र्याउने भएको छ । पर्यटन व्यवसायीहरुले साना, सुविधायुक्त हरियो नम्बर प्लेटका सवारीसाधन सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रियाहरु