फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागे

२०७५ जेष्ठ ९ गते, बुधबार

काठमाडौं, ९ जेठ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् । क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएको छ ।
यद्यपि एनालिटिकाले यो आरोपको खण्डन गर्दै आएको छ र गलत आरोपका कारण व्यवसायमा असर परेको भन्दै आफ्नो कार्यालय बन्द गरेको घोषणा गरिसकेको छ । युरोपेली सांसदका प्रश्नको जवाफ दिँदै जुकरवर्गले फेसबुकका टुल्सलाई हानी पुर्‍याउनका लागि प्रयोग गरिएको बताउँदै खेद प्रकट गरेका थिए ।
उनको भनाइबाट युरोपेली संसद्का सबै सदस्य सन्तुष्ट नभएको बताइएको छ । केही सांसदहरुको जिज्ञासाको जवाफ जुकरबर्गले नदिएपछि सांसदहरु असन्तुष्ट भएका हुन् ।
यसअघि गत अप्रिलमा जुकरबर्गसँग अमेरिकी संसद्मा सवाल जवाफ गरिएको थियो । तर, युरोपेली सांसदहरुसँगको सवाल जवाफको तरिका भने अमेरिकी संसद्को भन्दा फरक थियो । सबै सांसदहरुले एउटा प्रश्न सोधिसकेपछि जुकरबर्गले ती सबै प्रश्नको एकमुष्ट जवाफ दिएका थिए । तर सबै जिज्ञासाहरुको जवाफ नदिएको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु