प्रधानमन्त्रीद्वारा संसद निलम्बनकाे घाेषणा !

२०७६ भाद्र १२ गते, बिहीबार

काठमाडौं ,१२ भदौ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद् निलम्बनको घोषणा गरेका छन् । जसका सांसद तथा जनता दुवैले विरोध गरेका छन् । निलम्बनको घोषणालाई अनुमोदन गर्न निलम्बनसम्बन्धी प्रस्ताव उनले महारानी एलिजावेथ द्वीतीय समक्ष पेश गरेको अधिकारीले जनाएका छन् । बेलायतमा प्रधानमन्त्रीको हरेक निर्णयलाई महारानीले अनुमोदन गर्ने भएकाले प्रधानमन्त्रीको घोषणा नै अन्तिम निर्णय मानिन्छ ।
निलम्बनले आगामी अक्टोबर ३१ तारिखमा बिना कुनै सम्झौता बेलायत ईयूबाट बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानून पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ । निलम्बनका कारण प्रधानमन्त्री जोनसनको सरकारको नीति तथा कार्यक्रम घोषणा गर्न संसद्मा हुने महारानीको सम्बोधनलाई भने असर नपर्ने जनाइएको छ । निलम्बनको प्रस्ताव विवादमा परेको छ । कतिपय सांसदहरुले यसको विपक्षमा आवाज उठाएका छन् ।
सामान्यतया संसद्को नयाँ सत्र सुरु हुनुअघि केही समयका लागि मात्र संसद् स्थगन हुने गरेकामा यसपटक फरक अवस्थामा संसद् निलम्बन गरिएको हो । -एजेन्सी

प्रतिक्रियाहरु