प्रदर्शनकारीमाथि खुर्सानीको धुलो प्रहार ,दर्जनौं घाइते

२०७६ भाद्र १६ गते, सोमबार

काठमाडौं, १६ भदौ । हङकङमा सरकारविरोधी प्रदर्शन झनै चर्कंदै गएको छ । प्रदर्शनकारीहरुले विमानस्थललगायत सहरका मुख्य सडकहरु अवरुद्ध गरेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि आइतबार खुर्सानीको धुलो प्रहार गर्दा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले विमानस्थल जाने रेलवे सन्चालन गर्न नदिँदा सयौं यात्रीहरु पैदलै विमानस्थल पुग्ने गरेका छन् । सरकारविरोधी प्रदर्शनमा सहभागी लाखौं प्रदर्शनकारीहरुमध्ये उग्र र शंकास्पद केही प्रदर्शनकारीहरुमाथि प्रहरीले खुर्सानीको धुलो प्रहार गरेको बताइएको छ । प्रदर्शनकाक्रममा कयौं प्रदर्शनकारीहरु घाइते भएका छन् ।
हङकङमा पछिल्लो समय भइरहेको प्रदर्शन स्वतन्त्रता र स्वायतत्ताको मागतर्फ अघि बढिरहेको छ । कुनैबेला बेलायतको उपनिवेशकारुपमा रहेको हङकङ हाल एक राष्ट्र दुई प्रणालीअन्तर्गत् चीनको एक महत्वपूर्ण अंगकारुपमा रहेको छ । सरकारले चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा सुरु भएको प्रदर्शन अहिलेसम्म जारी छ । विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयक लक्षित रहेको भन्दै उनीहरुले विधेयक खारेजीको माग यथावत् राखेका छन् । माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुको चेतावनी छ । -एजेन्सी

प्रतिक्रियाहरु