पशुपतिमा श्राद्ध : दक्षिणाले यजमान आजित

२०७३ आश्विन ११ गते, मंगलवार

काठमाडौँ, ११ असोज । आज बोहनी नै भएन, सोह्र श्राद्धमा पितृलाई पिण्डसहित तार्न पशुपति आउने यजमान आफूकहाँ नआएपछि आसन कसेर बसेका ब्राह्मणबीच प्रचलित संवादको यस वाक्यले ब्राह्मणहरू पितृको उद्धार गर्न आसन जमाएका हुन् वा कमाउन बसेका हुन् ? भन्ने संशय यजमानलाई भएको छ ।
कसैको बोहनी राम्रै हुन्छ, कसैको हुँदैन, पशुपति भुवनेश्वरी डबलीमा रहनुहुने कर्मकाण्डी ब्राह्मण अच्युतप्रसाद पौडेल चिन्तन भन्नुहुन्छ । यसो त बोहनी भए पनि नभए पनि आसनमा बसेका यजमानलाई सुरुमा पाँच रुपियाँदेखि दुनामा दश बीस पचास हुँदै एकसय र पाँच सय हजारसम्मको द्रव्य पटक पटक राख्न लगाएर हैरान गर्ने ब्राह्मणको लर्को पशुपति क्षेत्रमा छ ।
मावलीपट्टिका पितृ, आफ्नै घरतर्फका पितृ, अन्य पितृको नाममा तर्पण सङ्कल्प गर्दा आसन छेउमा घिसारिएर आएको दुनामा दिनुपर्ने द«व्यले यजमान त्रसित भए, चार पाँच सय रुपियाँमा सक्याउने गरी आसनमा रहँदा झन्डै पन्ध्र सय रुपियाँ दक्षिणाको मारमा परियो, छिटै आसन छोड्ने प्रपञ्च नगरेको भए यसभन्दा बढी मारमा परिने रहेछ । अहो ! गोजीमा अलि पैसा नहालेको भए त लाजमर्दो हुने रहेछ, यजमान गौरीघाटका बद्री पुडासैनी भन्नुहुन्छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेती भन्नुहुन्छ, सोह्र श्राद्धका ब्राह्मण मात्र नभएर अरु बेला पनि यस्तो झमेलामा यजमान परेको गुनासो कोषमा आइरहेको छ । कोषले निश्चित दक्षिणा तोकिदिन सकेको छैन तर ब्राह्मणको ज्ञान, चालचलन र आनीबानीबारे परीक्षण गर्ने व्यवस्था गरेको छ ।
जानेका ब्राह्मणले नजानेका ब्राह्मणको परीक्षा लिएर आसनमा बस्ने अनुमति दिने व्यवस्था छ । यजमानका यी गुनासा हटाउन ब्राह्मणउपर अन्य परीक्षा लिने तयारीमा कोष पुगेको छ । पशुपति क्षेत्रमा भेषभूषा र अनुहारले ब्राह्मण हो भनी अनुमान गर्न सकिने झन्डै तीनसय ब्राह्मण सोह्र श्राद्धका लागि घाटमा टहलिइरहेका भेटिन्छन् ।
तीमध्ये प्रायः कपाल मुण्डन गरेर घाट पसेकाको पाखुरासमेत तानेर आसनमा आउन हैरान गर्छन् । पानी पर्दा भिजेको बोरामाथि बसेर यजमानलाई पितृ उद्धार गर्नुपर्ने समस्या छ भने घाम चर्र्कंदा पुर्पुरो सेकाउनुपर्ने अवस्था छ ।
पशुपतिका बाँदरले आसनमा बिथोलेर पितृ उद्धार गर्ने कि बाँदर धपाउने भन्ने हैरानी पनि ब्राह्मण, यजमानलाई त्यत्तिकै छ । काभ्रेपलाञ्चोक खरेलथोकका ब्राह्मण रेवती खरेल भन्नुहुन्छ, यजमान भिजेका बोरामा बसून् वा पुर्पुरो सेकाएर अहिलेसम्म टरेकै छ । भरिसक्य अरुको आसनमा यजमान नथुप्रून्, बोहनी राम्रो भएर दिनभर आसन जमोस् भनेर ब्राह्मणबीच प्रतिस्पर्धा पनि छ । -सरोज आचार्य / गोरखापत्र

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार