नेपालमै बन्यो विद्युतीय मोटरसाइकल

२०७६ पुष ४ गते, शुक्रबार

काठमाडाैँ, ४ पुस । नेपाली युवा इन्जिनियर टोलीले विद्युतीय मोटरसाइकल निर्माण गरेका छन । नेपालमै बनाएको सो विद्युतीय मोटरसाइकल ‘यात्री’ बिहीबार एक कार्यक्रमबीच सार्वजनिक भएको छ । ४ जना इन्जिनियर सहितको ७ जनाको टोलीले ‘यात्री डिजाइन स्टुडियो’को स्थापना गरी दुई वर्षसम्मकाे निरन्तर प्रयासमा उक्त सोटरसाइकल निर्माण गरेकाे हाे । बाइक निर्माणका लागि कम्पनीले २०१७ देखि रिर्सचको काम सुरु गरेकाे थियाे । यसका सम्पुर्ण स्पेयर पार्ट्स नेपालमै डिजाइन गरेर अमेरिका, चीन, भारत र युरोपेली मुलुकका विभिन्न कम्पनीसँग सहकार्य गरी निर्माण गरिएको कम्पनीका संस्थापक अशिम पाण्डेले जानकारी दिए । यो मोटरसाइकल नेपाली भूगोल र परिवेशमा बढी उपयोगी हुने कम्पनीले जनाएको छ । ३० किलोवाट ब्याट्री क्षमताको याे मोटरसाइकल सिङ्गल चार्जमा २ सय ३० किलोमिटर कुद्न सक्ने कम्पनीको दाबी छ ।
यात्रा गर्दा हुने प्रमुख समस्या पहिचान गरेर त्यही अनुसार मोटरसाइकल निर्माण गरिएको पाण्डेले जानकारी दिनुभयाे । उक्त मोटरसाइकल वातावरणमैत्री र सुरक्षाको दृष्टिकोणले पनि बढी उपयोगी भएको कम्पनीकाे भनाइ छ । यसमा अरु मोटरसाइकलको जस्तो मेटल नभई कार्बन फाइबर प्रयोग गरिएकोले आकर्षक हुनुका साथै हलुका र सुरक्षित रहेको कम्पनीको दाबी छ । कम्पनीले यसको मूल्य सार्वजनिक नगरे पनि सकेसम्म थोरै मूल्यमा मोटरसाइकल उपलब्ध गराउने पाण्डेले बताए । ‘हाम्रो डिजाइन विदेशबाट बनाएर ल्याउँदा पनि भन्सार शुल्क लगायतमा खासै सहुलियत रहेनछ। यो नीतिगत समस्या सुल्झिएपछि हामी सकेसम्म थोरै मूल्यमा मोटरसाइकल उपलब्ध गराउछौँ,’ उनले भने ।
सरकारले यस्ता खालका नेपालमै निर्माण हुन सक्ने उत्पादनलाई प्रोत्साहन गरेमा विदेशसमेत निर्यात गर्न सकिने कम्पनीको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु