देशभर बिहानैदेखि वर्षाः सतर्क रहन आग्रह

२०७६ असार २७ गते, शुक्रबार

काठमाडौं, २७ असार । मौसम पूर्वानुमान महाशाखाले आज बिहानै देखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको र कतिपय स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । अहिले पनि देशभर लगातार मनसुनी वर्षा भइरहेको छ ।
मनसुनी समयमा जमिन तातेपछि पानीका कण बोकेको हावाले निश्चित ठाउँमा एउटा प्रणालीको विकास गराउँछ । यो समयमा ठाउँ–ठाउँमा तातेको जमिनमाथिको जलवाष्पयुक्त हावाले वायूमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ । मौसम विज्ञानको भाषामा यसैलाई न्यूनचापीय रेखा भन्ने गरिन्छ । यही रेखाका कारण आज देशैभर बदली भई ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पश्चिमी भूभागका केही ठाउँ, मध्य र पूर्वका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा अति ठूलो वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । आज राति पनि पूर्ण बदलीको सम्भावना रहेकाले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ । यस्तै, पानीसँगै हावाहुरी पनि चल्ने भएकाले थप सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु