दक्षिण कोरियालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

२०७५ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौं, ४ जेठ । उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठकसमेत सोही सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा स्थगित गरेको थियो । बुधबार दक्षिण कोरियामा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात् स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको थियो । त्यसपछि अर्काे बैठककाबारेमा केही निर्णय पनि भएको छैन । सोलमा दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यास जारी रहेको छ । उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ ।
दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ । तर, सो सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग उत्तर कोरियाको रहेको छ । दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक अभ्यास सुरु भएको समाचारपछि नै उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ । सो सैनिक अभ्यासले दुई कोरियाबीच गएको अप्रिल २७ मा भएको शान्ति–सम्झौताको पनि उल्लंघन गरेको उत्तर कोरियाको भनाइ छ । उता, उक्त सैनिक अभ्यास तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी पनि उत्तर कोरियाले दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ ।
उक्त बैठकअगावै उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीच बुधबार बैठक हुने भनिएको थियो । तर, सो बैठक उत्तर कोरियाका कारण हुन सकेको छैन । गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक वार्ता र शान्ति–सम्झौता भएको थियो ।
उत्तर कोरियाले अप्रिल २७ को शान्ति–सम्झौताको कार्यान्वयनको सुरुआत गरिसकेको जनाएको छ । उत्तरले आफूले आणविक शस्त्र उत्पादन र परीक्षणको काम पनि स्थगित गरेको जनाएको छ । उत्तर कोरियाको यो प्रतिक्रियापछि दक्षिण कोरियाले भने सो वार्ता गर्न दबाब दिने र उत्तरसँगको वार्तालाई कायमै राख्ने जनाएको छ । सैन्य अभ्यासको विषयलाई लिएर अमेरिकाको भने कुनै प्रतिक्रिया आएको छैन ।- रासस/सिन्ह्वा

प्रतिक्रियाहरु