टिभी धेरै हेर्नु हानिकारक

२०७१ मंसिर ९ गते, मंगलवार


काठमाडौँ । हामीमध्ये धेरैजना फुर्सद हुनासाथ टिभी हेर्न थालिहाल्छौँ । तर, धेरै टिभी हेर्नुका अनेक बेफाइदा पनि छन् भन्ने हामीमध्ये धेरैलाई थाहा नहुन पनि सक्छ । विभिन्न अनुसन्धानले बढी टिभी हेर्ने मानिसलाई मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने देखाएका छन् ।
लामो समयसम्म टिभी हेर्नाले अथवा कम्प्युटर चलाउनाले अनिद्राको समस्या उत्पन्न हुन सक्छ । यस्ता मानिसमा ब्रेन हारमोन मेलाटोनिनको मात्रा बढी हुन्छ, जसकारण चिन्ता बढ्ने, ढिलो निदाउने र छिटो बिउँझिनेजस्ता समस्या उत्पन्न हुन्छन् ।
डायबिटिजका बिरामीले बढी टिभी हेरेमा उनीहरूको शरीरमा चिनीको मात्रा अझ बढ्न पुग्छ । टिभी हेर्न बस्दा मानिसले तुलनात्मक रूपमा बढी खाने गर्छ । यसले पनि सुगरको मात्रा बढाउने काम गर्छ ।
लामो समयसम्म टिभी हेर्ने मानिस बढी मोटाउँछ । टिभी हेर्दा मानिसको शरीर निष्क्रिय हुन्छ । लामो समयसम्म निष्क्रिय भएर बसेमा शरीरमा बोसोको मात्रा बढ्न पुग्छ र मानिस मोटाउँछ ।
बढी टिभी हेर्नेहरूको स्मरण शक्ति पनि कमजोर हुन्छ । टिभीमा देखिने इमेज र यसबाट आउने साउन्डले मानिसको न्युरोलोजिकल सिस्टममा असर गर्छ । यसैकारण बढी टिभी हेर्ने बालबालिकाको स्मरण शक्ति कम हुने गरेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ ।
बढी टिभी हेर्ने बालबालिकालाई परिपक्व हुन तुलनात्मक रूपमा बढी समय लाग्छ । उनीहरू टिभीमा देखिने काल्पनिक संसारमा बढी रमाउने गर्छन् ।
लामो समयसम्म टिभी हेर्ने मानिस बढी सन्काहा हुने गर्छन् । लगातार टिभी हेर्ने बालबालिकाले सन्काहा व्यवहार बढी देखाउने गरेको विभिन्न अध्ययनका क्रममा फेला परेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु