टहरामा पढाई !

२०७४ फाल्गुन २८ गते, सोमबार

काठमाडौं, २८ फागुन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी टहरामा बसेर पढ्न बाध्य भएका छन् । ०७२ साल वैशाखमा गएको भूकम्पले भत्काएको भवन पुनर्निर्माण नहुँदा उनीहरु टहरामा बसेर पढ्न बाध्य भएका हुन् । विद्यालयको एउटा भवन पूर्णरुपमा भत्किएपछि कक्षा ५ सम्मका बालबालिकालाई बाँसको टहरामा राखेर पठनपाठन गराइँदै आएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई भने जीर्ण बनेको भवनमा डरत्रासका साथ राखेर पढाइने गरेको छ । भवन पुनर्निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँग आग्रह गर्दा पनि कसैले वास्ता नगर्दा समस्या भएको विद्यालयका निमित्त प्रधानाध्यापक भीमबहादुर विश्वकर्माले बताए ।
जिल्ला शिक्षा कार्यालयको भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गतको भवनसमेत निर्माणाधीन अवस्थामा छ । गत असार मसान्तमै सकिने गरि एक वर्षअघि निर्माण सम्झौता भए पनि हालसम्म भवन निर्माणको काम सकिएको छैन । चालू आर्थिक वर्षमा गाउँपालिकाले विद्यालय भवन मर्मतका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । तर सो रकमले मात्र काम सम्पन्न गर्न नसकिने स्थानीयले बताएका छन् । जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले भने विद्यालयको भवन निर्माणका लागि पहल भइरहेको बताए ।

प्रतिक्रियाहरु