कम्प्युटरको कि–बोर्ड, माउसदेखि मोबाइलमा संग्रहित फोन नम्बरसम्ममा फेसबुकको पहुँच

२०७५ जेष्ठ ३१ गते, बिहीबार

काठमाडौं, ३१ जेठ । फेसबुक प्रयोगकर्ताको डाटा चोरी मामलामा फेसबुकले अमेरिकी संसदको माथिल्लो सदनमा दुई हजार प्रश्नको लिखित जवाफ दिएको छ । ४५४ पानामा लेखिएको जवाफमा फेसबुकले आफूसँग कुनै पनि प्रयोगकर्ताको के–कति जानकारी संकलित हुन्छ भन्ने तथ्य खुलाएको छ । सो जवाफमा उल्लेखित विवरणअनुसार फेसबुकले कुनै पनि प्रयोगकर्ताले प्रयोग गरेको कम्युटरको कि–बोर्ड, माउसदेखि लिएर मोबाइल फोनमा संग्रह गरेको टेलिफोन नम्बरहरु, मोबाइलमा रहेका तस्वीरहरुमा समेत पहुँच राख्दछ ।
फेसबुकले अमेरिकी संसदमा दिएको लिखित जवाफअनुसार फेसबुक ‘लगइन’ गरिसकेपछि उक्त डिभाइसमा प्रयोगकर्ताले के टाइप गर्दैछ र कुन कुन एप चलाइरहेको छ भन्ने जानकारी फेसबुकले लिइरहेको हुन्छ । यसबाट प्रयोगकर्ताले कस्ता प्रकारका सामाग्री मन पराउँछ र कस्ता सामाग्रीलाई कति समय दिन्छ भन्नेबारे फेसबुकलाई जानकारी हुने र सोही अनुसार प्रयोगकर्तालाई विज्ञापन सामाग्री देखाउने गरेको बताइएको छ ।
फेसबुकले जनाएअनुसार प्रयोगकर्ताले जुन कम्प्युटर वा मोबाइलबाट फेसबुक ‘लगइन’ गरेको हुन्छ, त्यसमा रहेका सबै सामाग्री, यहाँसम्म कि, कस्ता तस्वीर छन्, कति टेलिफोन नम्बर संग्रह गरिएको छ, कस्ता प्रोग्राम तथा एप चलाइरहेको छ भन्नेबारे सबै जानकारी संकलन भइरहेको हुन्छ । उसले प्रयोगकर्ताको मोबाइलमा कति प्रतिशत ब्याट्री खपत भयो वा कति प्रतिशत ब्याट्री बाँकी छ भन्नेसम्मको जानकारी पनि हासिल गरिरहेको हुन्छ । यसबाट उसले कुन एपमा कति ब्याट्री खपत हुन्छ भन्नेबारे जानकारी लिएर सोहीअनुसार एप परिमार्जन गर्न सघाउने गरेको जनाइएको छ । फेसबुकले सम्बन्धित डिभाइसको क्यामेरा र माइक्रोफोनमा समेत आफ्नो पहुँच रहने गरेको स्वीकार गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु