उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव

२०७४ मंसिर ५ गते, मंगलवार

काठमाडौं, ५ मंसिर । अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव गरेका हुन् ।
यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई सोही सूचीमा राखेकोमा ९ वर्षअघि यो सूचीबाट हटाएको थियो । इरान, सुडान र सिरिया पनि यो सूचीमा सामेल छन् । सन् २००८ मा जर्ज डब्ल्यु बुस प्रशासनले उत्तर कोरियालाई भने यो सूचीबाट हटाएका थियो ।मन्त्रिपरिषद्को बैठकमा राष्ट्रपति ट्रम्पले यो सूचीबाट उत्तर कोरियालाई हटाउनु गलत भएको भन्दै आज बस्ने बैठकले यसको निर्णय गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चरमपन्थीहरुलाई समर्थन गरेको सूचीमा राखेपछि उत्तर कोरियामाथि थप दबाब पर्ने बताइएको छ ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई यो सूचीमा सामेल गराएपछि उसको परमाणु कार्यक्रम र अन्तर्राष्ट्रिय स्तरमा चरमपन्थी कारबाहीको समर्थनको जिम्मेवार हुने बताएका छन् । उनले उत्तर कोरियाली सरकारको विधिसम्मत तरीकाले काम गर्नुपर्ने र परमाणु कार्यक्रमलाई रोक लगाउनुपर्ने बताए । उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले लगाएको प्रतिबन्धका बाबजुद परमाणु कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु