‘ इरान विश्वकै लागि खतरा’

२०७४ फाल्गुन ७ गते, सोमबार

काठमाडौं, ७ फागुन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विश्वका लागि सबैभन्दा ठूलो खतरा रहेको बताएका छन् । म्युनिखमा आयोजित सेक्युरिटी सम्मेलनमा इरानविरुद्ध कडा अभिव्यक्ति दिदैं उनले इरानी नेतृत्वलाई इजरायलमा ‘आतंकवादी नाक घुसाउन’ नदिने प्रष्ट पारे ।
उनले सोही सम्मेलनमा सहभागी इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफमाथि समेत गम्भीर आरोप लगाउँदै भने, ‘उहाँ इरानको नेतृत्वको वाकपटु प्रवक्ता हुनुहुन्छ ।’ सम्मेलनमा इरानी विदेशमन्त्री जरिफले सम्बोधन गर्न बाँकी नै छ । उनले इजरायली प्रधानमन्त्रीका भनाइको कडा प्रतिवाद गर्ने अपेक्षा गरिएको छ ।सम्मेलनमा इजरायली प्रधानमन्त्री नेतन्याहुले इजरायली सेनाद्वारा नष्ट गरिएको कथित इरानी ड्रोनको एक टुक्रा देखाउँदै इरानी विदेशमन्त्रीतर्फ लक्षित गर्दै भने, ‘के यो टुक्रा तपाई चिन्नुहुन्छ ? तपाईले चिन्नुपर्ने हो, किनकी यो तपाईहरुकै हो । हाम्रो परीक्षा नलिनुस् ।’ नेतन्याहुका अनुसार इरानले इजरायली क्षेत्रमा पठाएको ड्रोन इजरायली सेनाले खसालेका थिए । तर इरानले त्यसलाई अस्वीकार गर्दै आएको पनि उनको भनाइ थियो । प्रमाणस्वरुप आफूले ड्रोनको अवशेष ल्याएको उनले बताए । – एजेन्सी

प्रतिक्रियाहरु