आफ्नै कमान्डरसहित २० जनाकाे ज्यान लिने सैनिक मारिए

२०७६ माघ २६ गते, आईतवार

काठमाडाैँ, २६ माघ । थाईल्यान्डमा आफ्नै कमान्डरसहित २१ जनालाई गोली हानेर मारेका एक सैनिकलाई त्यहाँका सुरक्षाकर्मीले मारिदिएका छन् । थाई प्रहरीका अनुसार ‘जक्रपन्थ थोम्मा’ नामक ती सैनिकले शनिबार गोली चलाएर आफ्नै कमान्डरलाई मारेका थिए । ती आक्रमणकारी सैनिकले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहरकाे एक व्यापारिक केन्द्रमा पसेका थिए । र, त्यहाँ पनि उनले अन्धाधुन्ध गोली चलाएर अन्य सर्वसाधारणको समेत ज्यान लिए । थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरे अनुसार थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा उनले गोली चलाउँदा कमाण्डर र अन्य २० जनाको मृत्यु भएको हो ।
नकोन रात्चासिमा नगरमा भएको उक्त घटनामा ती सैनिकले त्यहाँस्थित एउटा किनमेल केन्द्रमा गएर अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणकारी सैनिकले शहरको उक्त व्यापारिक केन्द्रमा रहेका पसलहरूमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको बताएको छ । उनले त्यहाँ आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा पनि हालिरहेका थिए । तर उनको उद्देश्य प्रस्ट भएको छैन । शनिवार स्थानीय समय साढे ३ बजेतिर त्यहाँको सैनिक शिविरमा ती सैनिकले कमान्डरलाई मारिदिएपछि घटना सुरु भएको थियो । सो स्थलमा ती कमान्डरका सासु तथा अर्का एक सैनिक पनि मारिए । त्यसपछि ती व्यक्तिले हतियार चोरे अनि त्यहाँ रहेको गाडी चढेर भागेको र व्यापारिक केन्द्रमा पुगेर गोली चलाउन थालेको बिबिसीले लेखेको छ ।
यसैबीच ,आइतबार सबेरै थाईल्यान्डका जनस्वास्थ्य मन्त्रीले आफ्नो फेसबुकमा ती सैनिकलाई मारिदिने सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् । स्थानीय समयअनुसार आइतबार बिहान ३ बजेतिर किनमेल केन्द्रमा सुरक्षाकर्मी घुसेपछि गोली चलेकाे आवाज आएकाे बताइएकाे छ । सोही केन्द्रमा लुकिरहेका ती हतियारधारी सैनिकलाई कब्जामा लिन गरिएको कारबाहीमा परी उनको मृत्यु भएको हो । सो कारबाहीका क्रममा थप एकजना सुरक्षाकर्मी मारिएको तथा दुईजना घाइते भएको बताइएको छ । यससँगै कैयन् मानिसहरूलाई किनमेल केन्द्रबाट सुरक्षित बाहिर निकालिएको थियो । यद्यपि अझै कतिपयलाई त्यहाँभित्र बन्धक बनाइएको हुनसक्ने अनुमान गरिएकाे छ । घटनाअघि ती सैनिकले फेसबुकमा हतियारसहितकाे सेल्फी फाेटाे हालेकाे र ‘अब मृत्युसँग मजा गर्ने समय आएको’ भन्ने पाेस्ट लेखेका थिए । तर फेसबुकले अहिले त्यो पेज हटाइदिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु