अमेरिकी सेनाद्वारा पाकिस्तानलाई दिने भनिएको ३० करोड डलर रोक्का

२०७५ भाद्र १७ गते, आईतवार

काठमाडौं , १७ भदौ । अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड अमेरिकी डलर नदिने निर्णय गरेको छ । पाकिस्तानले आतंकवाद नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सहयोग रकम रोक्का गर्ने निर्णय गरिएको हो । अमेरिकी रक्षा मन्त्रालयका लेफ्टिनेन्ट कर्णेल कोनी फाकनरले विज्ञप्ति निकाली पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएका कारण सहयोग रकम रोक्का गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
यसअघि ट्रम्प प्रशासनले पाकिस्तान उग्रवादीको अखडा बनेको र पाकिस्तानको आडमा अफगानिस्तानमा १७ बर्षदेखि आतंकवाद मौलाएको आरोप लगाएको थियो ।
यद्यपि, पाकिस्तानले भने अमेरिकी भनाईप्रति आपत्ति जनाएको छ । यसअघि पनि अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ५० हजार अमेरिकी डलरको सहयोग रद्द गरेको थियो । अमेरिकी निर्णयले नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भने झट्का लागेको छ । पाकिस्तानको सत्ता सम्हालेलगत्तै अमेरिकाले सहयोग रकम रोक्का गर्दा खानलाई अप्ठेरो परेको हो । अमेरिकाले पाकिस्तानका लागि हालसम्म ३३ अर्ब अमेरिकी डलर सहयोग गरिसकेको छ । -एजेन्सी

प्रतिक्रियाहरु