अखिल (क्रान्तिकारी) द्वारा अनलाइन शिक्षाको नाममा शुल्क लिए कारबाही गर्ने चेतावनी

२०७७ असार २५ गते, बिहीबार

काठमाडौं , २५ असार । अखिल (क्रान्तिकारी) ले सरोकारवाला निकायलाई पटकपटक यस अघि पनि बन्दाबन्दीको समयमा अनलाइन शिक्षाको नाममा शुल्क लिने, प्रत्येक वर्ष पाठ्यपुस्तक परिवर्तन गरेर अभिभावकमाथि आर्थिक भार थोपर्ने, विभिन्न बहानामा अभिभावकसँग महङ्गो शुल्क असुलि गर्ने लगायतका कार्यहरू तत्काल बन्द गर्न विगतदेखी नै मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र र ज्ञापनपत्र बुझाउँदा समेत पनि अटेर गरि शुल्क असुलि नरोकिएको पाईएको भन्दै गम्भीर आपत्ति सहित घोर भत्सर्ना गरेको छ । अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष डि.बि.शाहीले बिज्ञप्ति जारी गर्दै सो आपत्ति जनाएका हुन। अध्यक्ष शाहीले बिज्ञप्तिमार्फत विद्यार्थी-अभिभावकलाई बन्दाबन्दी अवस्थामा अभिलेखिकरणको नाममा जबर्जस्ति शुल्क बुझाउन दबाब सिर्जना गर्ने कार्य बन्द गर्न र अभिभावकबाट उठाईएको शुल्क तत्काल फिर्ता गर्न अपिल गर्दै यस्तो कार्य नोरिकिए यसको जवाफ संघर्षको मैदानबाट दिने समेत बताएका छन ।
यस बिषयमा अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष डि.बि.शाहीले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो जनप्रिय तथा गौरवशाली संगठन, अखिल (क्रान्तिकारी) विगत लामो समयदेखी शैक्षिक क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका निम्ति अथक पहलकदमी लिदै आएको, साथै राष्ट्रियता र जनजिविकाको पक्षमा वकालत गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निम्ति निरन्तर संघर्षरत रहेको कुरा सम्पुर्णमा जगजाहेरनै छ ।
यसै सन्दर्भमा यतिबेला कोभिड-१९ को महामारीका कारण विश्वनै थलिएको र यसको प्रभावबाट हाम्रो देश नेपाल पनि अछुतो हुन सकेको छैन् । यसै कारणले गर्दा करिब ४ महिनादेखि बन्दाबन्दीको कारण देशैभरका सम्पुर्ण शैक्षिक संस्था बन्द रहेका छन् । यसबाट प्रत्यक्ष रुपमा करिब ९० लाख विद्यार्थीहरुको पठनपाठन पुर्ण रुपमा रोकिएको छ । सामुदायिक विद्यालयहरु क्यारेन्टाइनले भरिएका छन् । विद्यार्थी र अभिभावक आफु र आफ्नो सन्तानको भविष्यप्रती चिन्तित भइरहेका छन्, भने अर्कोतिर रोजगार गुमेका कारण अभिभावकहरु साँझ-बिहानको छाक टार्न समेत हम्मेहम्मे परिरहेको छ । वर्तमान कम्युनिस्ट नामको फाँसिवादी सरकार दलाल, माफिया र भ्रष्टाचारीहरुको मुख्य पहरेदार बनिरहेको छ । जनताका समस्याबारे सरकार लाचार र मुकदर्शक बनिरहेको छ । यस्तो विषम परिस्थितिमा बाँके जिल्लामा क्रियाशिल निजि शिक्षण सस्थाका संगठनहरु मुख्तत प्याबसन र एनप्याबसनले अनलाइन र विद्युतीय शिक्षाको नाममा बन्दाबन्दी रहेको अवस्थामा अभिभावकसँग भर्ना गर्न जारी गरिएको संयुक्त अपिलप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । र हाम्रो संगठन उक्त निर्णय तत्काल फिर्ता गर्न समेत जोडदार माग गर्दछ । यसकासाथै विद्यार्थीहरु र अभिभावकहरुलाई बन्दाबन्दी अवधिको शुल्क नतिर्न समेत विशेष अपिल गर्दछ ।
हाम्रो संगठनले सरोकारवाला निकायलाई पटकपटक यस अघि पनि बन्दाबन्दीको समयमा अनलाइन शिक्षाको नाममा शुल्क लिने, प्रत्येक वर्ष पाठ्यपुस्तक परिवर्तन गरेर अभिभावकमाथि आर्थिक भार थोपर्ने, विभिन्न बहानामा अभिभावकसँग महङ्गो शुल्क असुलि गर्ने लगायतका कार्यहरू तत्काल बन्द गर्न विगतदेखी नै मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र र ज्ञापनपत्र बुझाउँदा समेत पनि अटेर गरि शुल्क असुलि नरोकिएको पाईएको छ । यसप्रति हाम्रो संगठन गम्भीर आपत्ति सहित घोर भत्सर्ना गर्दछ । विद्यार्थी-अभिभावकलाई बन्दाबन्दी अवस्थामा अभिलेखिकरणको नाममा जबर्जस्ति शुल्क बुझाउन दबाब सिर्जना गर्ने कार्य बन्द गर्न र अभिभावकबाट उठाईएको शुल्क तत्काल फिर्ता गर्न हार्दिक अपिल गर्दछौँ । साथै यस्तो कार्य नोरिकिए यसको जवाफ संघर्षको मैदानबाट दिने समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।”

प्रतिक्रियाहरु