स्नायु विषका बारेमा रुसले स्पष्टिकरण दिनुपर्ने !

२०७५ असार २२ गते, शुक्रबार

काठमाडौं, २२ असार । बेलायती गृहमन्त्री साजिद जाविदले सोभियतकालीन स्नायु विषका कारण दक्षिणी इंग्ल्याण्डमा एक ब्रिटिश जोडी सिकिस्त अवस्थामा पुगेको घटनाका सम्बन्धमा रुसले स्पष्टिकरण दिनुपर्ने बताएका छन् । गृहमन्त्री साजिद जाविदले ब्रिटिश जोडीलाई ज्यानै जानसक्ने अवस्थामा पु¥याउन प्रयोग भएको स्नायु विष र चार महिनाअघि एकजना भूतपूर्व रुसी गुप्तचर र उनकी छोरीमाथि प्रयोग भएको विष एकै प्रकारको पाइएकोसमेत दावी गरेका छन् ।
संसदलाई सम्बोधन गर्दै गृहमन्त्री जाविदले स्नायु विष ‘नोभिचोक’ भनिने रासायनिक अस्त्रमा पर्ने र यस घटनाबारे रुसले अगाडि आएर स्पष्ट पार्नुपर्ने बेला भएको बताएका छन् । यो पछिल्लो घटनामा पनि मस्कोको संलग्नता देखिएमा बेलायतले थप कारबाहीबारे विचार गर्ने उनको भनाइ छ । उता, रुसी विदेशमन्त्रालयकी प्रवक्ताले भने ब्रिटिश प्रहरीको फोहोरी राजनीतिक खेललाई नपत्याउन आग्रह गरेकी छन् । रुसी विदेश मन्त्रालयकी प्रवक्ताले पत्रकार सम्मेलनमा बोल्दै ब्रिटिश प्रहरीले रुसी सुरक्षा अधिकारीहरुलाई सहयोग गर्नुपर्ने र फोहरी राजनीतिक खेलमा लाग्न नहुने बताएकी छन् । चार्ली रोली र डन स्ट्रगस नाम गरेका ती जोडी शनिबार विल्टशरस्थित आफ्नो घरमा बेहोस अवस्थामा फेला परेका थिए । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु