भारतमा आँधी र भीषण वर्षा

२०७४ मंसिर १५ गते, शुक्रबार

काठमाडौं, १५ मंसिर । भारतको दक्षिणी भूभाग तामिलनाडू र केरला प्रान्तमा आएको भीषण आँधी र वर्षाका कारण कम्तीमा पनि आठजनाको ज्यान गएको बताइएको छ । सो आँधीका कारण कम्तीमा पनि आठजना मृत्यु हुनुका साथै १०० जना नागरिक हराएर बेपत्ता भएका पनि सो समाचारमा उल्लेख गरिएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए । उनीहरु धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ ।
शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो । बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण वर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ । तामिननाडू, केरला र दक्षिणी भारतको लक्षदीप भन्ने स्थानमा यो आँधीले ठूलो असर गरेको छ । यहाँका संरचना एवम् प्राकृतिक स्रोत सम्पदामा पनि यस आँधीको ठूलो प्रभाव परेको बताइएको छ । सामुद्रिक किनाराका बस्तीहरुमा यसको झन ठूलो असर परेको छ । नागरिकहरुलाई सो क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान भनिएको छ भने कतिपयलाई सारिएको पनि छ । ती स्थानमा आँधीले एक हजारभन्दा बढी रुख ढलाएको छ । त्यसैगरी, बिजुलीका खम्बाहरु पनि ढालेकोले विद्युत अवरुद्ध बन्दै गएको पनि बताइएको छ । अहिले पनि ती क्षेत्रहरुमा आँधीको प्रकोप जारी नै छ । उद्वारको काम प्रभावकारी रुपमा गर्न नपाइएको अधिकारीहरुले जनाएका छन् । हराएका व्यक्तिको खोजी जारी छ, तर आँधीका कारण उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन । उद्वारकर्मीहरुले आँधीको प्रकोप कम हुनासाथै खोजी अभियान सुरु गर्ने बताएका छन् ।- रासस/सिन्ह्वा

प्रतिक्रियाहरु