आतंककारी र सुरक्षाकर्मीबीच गोली हानाहान

काठमाडौं ,१४ मंसिर । भारत नियन्त्रित कश्मिरमा बिहीबार कडा सुरक्षाका बीच पनि दोहोरो गोली हानाहान भएको छ । लासकार ए तोइबा नामक आतंककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि भारत प्रशासित क्षेत्र कश्मिरको सुरक्षा व्यवस्था गएको हप्तादिन भन्दा लामो समयदेखि कडा बनाइएको थियो । तर, बिहीबार बिहानैदेखि बडगाम जिल्लाको फाल्तिपुरामा सशस्त्र लडाकू र सीमा सुरक्षा बलबीच दोहोरो गोली हानाहान सुरु भएको बताइएको छ । सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित कश्मिरमा आतंककारीले थप हिंसा मच्चाउन सक्ने अनुमानमा हप्तादिन अघिदेखि प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या यहाँ खटाइएको थियो ।
गत हप्तामात्र पनि सोही क्षेत्रमा नै सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए । अर्ध सैन्यबल र ती आतंककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतंककारी मारिएका सुरक्षा अधिकारले जानकारी दिएका छन् । भारतीय प्रहरी कश्मिरका प्रवक्ताले जानकारी दिएअनुसार उक्त क्षेत्रमा निकै लामो समयदेखि उक्त आतंककारी समूहमा आवद्ध लडाकूहरुको क्रियाकलाप बढिरहेको थियो ।
भारतीय सहर मुम्बाइमा सन् २००८ मा भएको आक्रमणमा पनि यही लासकार ए तोइबा नामक आतंककारी संगठनको हात रहेको भारतले जनाउँदै आएको छ । यस आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सयभन्दा बढी घाइते भएका थिए । त्यसयता भारत सरकारले उक्त समूहलाई आतंककारी समूहका रुपमा व्यवहार गर्दै आएको छ । बिहीबारको सो गोली हानाहानबाट भएको क्षतिको बारेमा भने केही समाचार आएको छैन ।- रासस/एएफपी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>