‘विरामी जाँच्दिन भन्ने डाक्टरले पेसा छाडे हुन्छ’

२०७१ फाल्गुन १६ गते, शनिबार

काठमाडौँ । मुख्य सचिव लीलामणि पौडेलले स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलगायत स्वास्थ्यमन्त्रालयका वरिष्ठ अधिकारीहरुलाई सार्वजनिक कार्यक्रममै हप्काएका छन् । स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमै आयोजित कार्यक्रममा मुख्य सचिव पौडेलले स्वास्थ्यमन्त्री, सचिव र पदाधिकारीले विगतका प्रतिबद्धता र निर्देशन पालना नगरेको भन्दै हप्काएका हुन् । मुख्य सचिव पौडेलले उदाहरण दिँदैं विगतका निर्देशन पालना नभएको बताइरहँदा मन्त्री खगराज अधिकारी, सचिव शान्तबहादुर श्रेष्ठलगायतका उच्च अधिकारीहरु कालोनिलो अनुहार लगाएर बसिरहेका थिए । मुख्य सचिव पौडेलले औषधिको मूल्य निर्धारण, सरकारी अस्पतालबाट निजी फार्मेसी हटाउँने, दुर्गम क्षेत्रमा पोष्टिङजस्ता आफ्ना निर्देशनहरु अहिलेसम्म पालना नगरेको भन्दै मन्त्री र सचिवको आलोचना गरेका थिए । उनले केही नखाईकन, झरी, बादल, गर्मी, बर्खा नभनीकन खालीखुट्टा हिँड्ने ५२ हजार स्वयम्सेविकाले गर्दा स्वास्थ्य क्षेत्रले नाक फुलाउने अवसर पाएको भन्दै उनीहरुलाई नै स्वास्थ्य सेवा दिवसका दिन नसम्झिएको भन्दै टिप्पणी पनि गरे । उनले स्वास्थ्य क्षेत्रमा भएको विकृतिको वाहक म होइन भन्ने हिसाबले काम गर्न स्वास्थ्यकर्मीसँग अनुरोध गरे ।
स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्य सचिव लिलाामणि पौडेलले दिएको मन्तव्यको पूर्ण बिबरण यस प्रकार रहेको छ– गत वर्ष तपाईंहरुका माझमा केही विषयहरु राखेको थिएँ, तपाईंहरुसँग अपेक्षा छ भनेर, सबै विषयमा मन्त्रीले प्रतिबद्धता पनि जनाउँनुभयो, चाहे औषधिको मूल्य राख्ने कुरामा होस्, डाक्टरले म फलानो अस्पतालको रुपमा विज्ञापन गर्ने प्रवृत्ति थियो, दुर्गम क्षेत्रमा पोष्टिङका कुरा होस्, या म्याद नाघेका औषधि, चार वर्ष खपत नहुने औषधि काठमाडौँमा हेल्थ पोष्टमा डम्प गरेर पठाइएको छ, तर, चाहिने औषधि छैन, यस्तो लापरवाही छ, छानबिन गर्नुस् भन्या थिएँ, यहाँबाट गएपछि लिखित चिठी पनि दिएको हो, तर, मैले अहिलेसम्म के भएको छ भन्ने जानकारी पाएको छैन । यो स्वास्थ्य क्षेत्रमा जे–जे विकृतिका भार हामीलाई बोकाइएको छ, त्यसको कारक म होइन भनेर त्यतिमात्रै प्रण गरे पुग्छ, सार्वजनिक पनि गर्नुपर्दैन । त्यति महसुस गरेपुग्छ ।
माननीय मन्त्रीज्यू अब कारवाही गर्ने भनेर मात्रै पुग्दैन, तपाईंहरुले प्रण गर्नुपर्छ आजको दिनमा । हामी पनि त्यसो गर्दैनौ, र गर्नेलाई पनि छुट दिँदैनौँ । मैले तपाईंहरुलाई पोहोरै भनेको थिएँ, सबै चोर फटाहा पनि होइन, सबै स्वास्थ्य क्षेत्रको दोहन गरेर जनतालाई सास्ती दिने पनि होइन तपाईंहरु । सर्वसाधारणले त फलानो राम्रो फलानो नराम्रो भन्दैन । सबै चोर डाँका, फटाहा, औषधि बेचेर खान्छ, अस्पतालमा काम गर्दैन । भन्छन् ।
अहिले हामीले ‘ब्रम्हाजीले उँट बनाएजस्तो’ सबै आ–आफ्ना गल्तीबाट पछि हट्ने प्रयास गर्दैछौं । सबै मैले होइन भनिरहेका छौं । ममध्ये एउटा मैलेचाहिँ हो । मैले होइन भने साँच्चिकै प्रण गरेर देखाउनुप¥यो । यो स्वास्थ्य क्षेत्रमा जे–जे विकृतिका भार हामीलाई बोकाइएको छ, त्यसको कारक म होइन भनेर त्यति मात्रै प्रण गरे पुग्छ, सार्वजनिक पनि गर्नुपर्दैन । त्यति महसुस गरेपुग्छ । हामीले आफ्ना पूर्ण क्षमता इमानदारितापूर्वक प्रयोग गरेका छौँ । छौँ भने सुधार गर्ने ठाउँ यहीभित्रै छ ।
स्वास्थ्य सचिव र अरु साथीहरु पटक–पटक आउनु हुन्छ बजेट भएन भनेर । पहिले भएका बजेटको सदुपयोग गरेको छ भन्ने प्रत्याभूति भयो भनेचाहिँ थप बजेट माग्ने अधिकार दुगुना बढ्छ । दिएको बजेट समयमै सदुपयोग गरेको प्रत्याभूति गरे अर्काे चार गुणा बढ्छ । समस्या हामीभित्रै छ, त्यो समाधान गरे हाम्रो नैतिक साहस बढ्छ । बार्गेनिङ पावर बढ्छ ।
नाक फुलाएर हामी एमडिजीपी के–के ग¥यौं भनेर अंग्रेजीमा भन्छौं, अंग्रेजीमा रिपोर्ट बनाउँछौं, देशविदेश घुम्छौं, स्वास्थ्यका कर्मचारी अरु मन्त्रालयका भन्दा विदेश हिँड्या–हिँड्यै गर्छन् । नांगा खुट्टाबाट गाउँगाउँमा केही नखाईकन, झरी, बादल, गर्मी, बर्खा नभनीकन खालीखुट्टा हिँड्ने ५२ हजार स्वयम्सेविकाले गर्दा नाक यत्रो भएको, अनि तिनीहरुलाई नै नसम्झने स्वास्थ्य सेवा दिवसका दिन ? सम्मान गर्नुपर्ने कल्लाई हो, जसले खाइ नखाईकन काम गरेको छ । जसले साँच्चिकै काम गरेको छ ।
म तपाईंहरुलाई सुधारका लागि इमानदारितापूर्वक लाग्न अनुरोध गर्छु । बढी मूल्य लिएको पाइएमा कालोबजारी ऐनअनुसार थुन्ने कारवाही गर्नुहोस् भनेर भनेको थिएँ । पेसमेकरदेखि लिएर महँगा औषधि र मोनोपोलीलाई रोक्न मूल्य निर्धारण गर्नुस् भनेर भनेको थिएँ । तर, तल्लो तहसम्म यो यति विकृत भएर गएको रहेछ । यहाँ नउठेको एउटा विषय माननीय मन्त्रीज्यू र सहकर्मी साथीहरुलाई राख्न चाहन्छु । औषधिको मूल्य एउटा पत्रिकाको फ्रन्ट पेजमा आएपछि मलाई त लाजै लाग्यो । अलि–अलि त थाहा थियो, १०–१५ वटाको, तर, सचिवज्यू हुनुहुन्छ, झण्डै मैले आधादर्जन । चाँडै गर्नुस् मूल्य निर्धारण भनेर । बढी मूल्य लिएको पाइएमा कालोबजारी ऐनअनुसार थुन्ने कारवाही गर्नुहोस् भनेर भनेको थिएँ । पेसमेकरदेखि लिएर महंगा औषधि र मोनोपोलीलाई रोक्न मूल्य निर्धारण गर्नुस् भनेर भनेको थिएँ । तर, तल्लो तहसम्म यो यति विकृत भएर गएको रहेछ । सबै अस्पतालमा फार्मेसी निजी संस्थालाई ठेक्का दिएको छ । लखनौँ लुट त्यहीबाट सुरु हुन्छ । यति लाख भाडा तिरेको छ भनिन्छ । भाडा हैन, भित्रभित्रै कमिसन खाएको हुन्छ । के–को भाडा ? उसको बाउको सम्पत्ति ल्याएर भाडा तिरेको हो र ? औषधि ल्याएर नाफा खाएर, खुवाएर गरेको हो नि, इच्छाशक्ति हुने हो भने त्यो नाफा अस्पतालको कोषमा जान्छ या बिरामीले फाइदा पाउँछ । हामीले निजामति अस्पतालमा फार्मेसी आफैँ चलाउछौँ, ३५ प्रतिशत आम्दानी फार्मेसीबाट हुन्छ । चलेको ५ वर्षैभित्रै अपरेटिङ कस्ट उठाएको छ । फार्मेसी बन्द गराउन काठमाडौंका ५ वटा अस्पताल, शिक्षण, वीर, कान्ति बाल, पाटन र गंगालाललाई आफ्नै फार्मेसी राख्न लगाउनुस् र तिनीहरुलाई औषधि उत्पादकबाट डिस्काउन्टबाट ल्याउन लगाएर उपभोक्तालाई पनि सुविधा दिनुस् भनेर लिखित रुपमा निर्देशन दिएको दुई वर्ष भयो, लागू भएको छैन । मनमोहन कार्डियो भास्कुलर सेन्टरको फार्मेसीले २२ सय पर्ने औषधि पनि राख्दैन । यहाँ पाइदैन अर्काे निजी फार्मेसीमा जानुस् भनेर पठाउँछन् । निजीले चाहिँ ५२ सयमा बेच्छन् । अनि मनमोहनको फार्मेसी र बाहिरको निजी फार्मेसीले नाफा बाँडेर खान्छन् । यो जालोबारे स्वास्थ्य मन्त्रालय किन मौन छ ? कारबाही गर्न सक्दैन वा इच्छा शक्ति छैन । त्यसकारण आजै अहिले अफिस गएपछि ५ वटै अस्पतालमा पाँच सय मिटरवरपर निजी फार्मेसी राख्न नदिने निर्णय गर्नुहोस् । विभिन्न विकृत कमिसनको जालो र खेललाई रोक्नुहोस् ।
फ्रि सेवाको अनुगमन होइन, राज्यले उपचार गर्न नसकेकालाई निजी अस्पतालमा पठाइदिनुहोस् । अहिले मन्त्रिपषिद्मा सबैभन्दा विवादित विषय नै उपचार खर्च हो । निजी अस्पतालको १० प्रतिशत नियम लागू गरेमा मन्त्रालयको एक अर्ब जोगिन्छ । लागू नगर्नेलाई कारवाही गर्नुस् । औषधिको विलको विषयमा हरेक मन्त्रिपरिषद्मा तनाव हुने गरेको छ स्वास्थ्य मन्त्री र मेरो ।
हस्पिटल तथा रिसर्च सेन्टर के हो ? रिसर्च नगर्नेहरुले किन रिसर्च सेन्टर लेख्ने ? सुविधा लिन मात्र रिसर्च सेन्टर लेख्ने होइन । कमाईको केही हिस्सा खर्च गर्ने तथा भोलिका दिनमा स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने बारे किन अध्ययन भएन ।
मेडिकल एजुकेशन महँगो भयो । मेडिकल शिक्षा महँगो हुँदा कसरी स्वास्थ्य सेवा सस्तो हुन्छ ? मेडिकल शिक्षालाई अफोर्डेबल बनाउनुप¥यो । यसमा शिक्षा र स्वास्थ्यका भूमिका हुन्छ । छात्रवृत्तिको संख्या बढाउने र महँगोमा पढ्नेको संख्या सानो बनाइदिने गर्नुपर्छ । अनि सस्तोमा पढ्नेले गुणस्तरीय सुविधा दिन्छ । विदेशी विद्यार्थीबाट बढी पैसा लिएर त्यसको अनुदान स्थानीयलाई दिनुपर्छ ।
मेडिकल एजुकेशन महंगो भयो । मेडिकल शिक्षा महंगो हुँदा कसरी स्वास्थ्य सेवा सस्तो हुन्छ ? मेडिकल शिक्षालाई अफोर्डेबल बनाउनुप¥यो । यसमा शिक्षा र स्वास्थ्यका भूमिका हुन्छ । छात्रवृत्तिको संख्या बढाउने र महंगोमा पढ्नेको संख्या सानो बनाइदिने गर्नुपर्छ । अनि सस्तोमा पढ्नेले गुणस्तरीय सुविधा दिन्छ । विदेशी विद्यार्थीबाट बढी पैसा लिएर त्यसको अनुदान स्थानीयलाई दिनुपर्छ ।
पिजी निःशुल्क पढाउँछु भन्नेलाई आजै सम्बन्धन देउ । निःशुल्क पढाउनेलाई सम्बन्धन दिन किन झुलाउने काम भइरहेको छ ? यसमा कतै बार्गेनिङको खेल त होइन ? पीजी पढ्न करोड तिर्नु भनेको लखनौँ लुट हो । निःशुल्क पोस्ट ग्रयाजुयटलाई अनुमति दिनुहोस्, मैले गर्ने सहयोग गर्छु । सामुदायिक अस्पतालले विकृति भित्राए । अनुदान लगेको केहीलाई जागिर दिने र सरकारी अनुदान मात्र खाने दाउमा मात्र छ । सामुदायिक अस्पतालको अनुगमन भएन भने विकृति बढ्दो रहेछ । माग राखेर हड्ताल गर्न मिल्छ ? बिरामी जाँच्दिन भन्नेहरु कसरी डाक्टर हुन्छ ? विरामी जाँच्दिन भन्ने डाक्टरले पेसा छाडे हुन्छ ।

प्रतिक्रियाहरु