क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विभाजन

२०८१ बैशाख १७ गते, सोमबार


काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विभाजन भएको छ । सो पार्टीका सचिवालय सदस्य समरजङले आज पत्रकार सम्मेनलको आयोजना गरेर नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र तत्कालिन नेकपा (क्रान्तकारी माओवादी) बीचको एकता भङ्ग भएको बताए । गत वर्ष बैशाख १८ गते भएको तत्कालिन नेकपा (बहुमत) र नेकपा (क्रान्तकारी माओवादी) बीच एकता गरि बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै भङ्ग भएको हो।
यस बिषयमा समरजङ्, विप्लव, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्ट, युगान्तलगायतले जारी गरेको विज्ञप्तीमा भनिएको छ- “क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा देखापरेका गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, साङ्गठनिक तथा साँस्कृतिक समस्याहरूका कारण हामी उक्त पार्टीको विभिन्न तहमा रहेको नेतृत्व पंक्ति गतवर्ष वैशाख १८ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भई गठित क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भङ्ग भएको घोषणा गर्न बाध्य भएका छौं। पार्टीभित्र देखापरेका वैचारिक, साङ्गठनिकलगायत समस्या समाधान गर्ने सम्बन्धमा पटक- पटक अध्यक्ष कमरेड मोहन वैद्य ‘किरण’ संग गम्भीर छलफल भएको तर पनि निकास निकाल्ने र आन्दोलनलाई गति दिने विषयमा कुनै ठोस पहल नभएकाले हामी यो निष्कर्षमा पुगेको जानकारी गराउँछौं ।
२०८० साल असोज १६-२२ मा बसेको पार्टी केन्द्रीय समितिको निर्णय जनादेश लत्याउँदै पार्टीको नवौं महाधिवेशनलाई अनिश्चितताको भुमरीमा धकेलेको छ । जनवादी केन्द्रीयताको उल्लङ्घन गर्दै पार्टी एकताका नाममा केन्द्रीय समितिलाई पङ्गु बनाइएको छ भने पार्टीलाई गुट र निहित आर्थिक स्वार्थको बन्दी बनाइएको छ । मार्क्सवाद-लेनिनवाद-माओवादबाहेक विचारवाद, कट्टरतावाद, अनुभववाद र रूढिवादले नयाँ क्रान्तिको नेतृत्व गर्न सक्दैन भन्ने हाम्रो निष्कर्ष छ ।
विश्वसाम्राज्यवादले सच्चा कम्युनिस्टहरूमाथि चाैतर्फि हमला गरिरहेको सन्दर्भमा सर्वशक्तिमान विचारको उच्चत्तम चरण माओवादलाई लत्याउँदै महान् जनयुद्धलाई ‘सामाजिक फासिवाद’ र ‘उग्रवामपन्थी भड्काव’ को मिथ्या आरोप लगाउँदै जनयुद्धकालमा प्रतिकारमा संलग्न गुटहरूसंग गरिएको कथित पार्टी एकता हाम्रा लागि अस्वीकार्य छ । परन्तु हामी विगतका सम्पूर्ण न्यायपूर्ण आन्दोलनका उपलब्धिहरूको रक्षा, समीक्षा र सच्चाँ क्रान्तिकारीहरूसंग सहकार्य, कार्यगत एकता र एकताको ढोका बन्द गर्ने पक्षमा भने छैनौं ।
नयाँ विश्व एवम् राष्ट्रिय परिस्थितिमा सामन्तवाद कि पूँजीवाद, जनवाद कि समाजवाद, माओ विचारधारा कि माओवादजस्ता विषयमा पछाडि फर्किएर सामन्तवाद, जनवाद, माओ विचारधाराको बहसमा रुमल्लिंदै क्रान्तिलाई गुमराहमा पार्ने षड्यन्त्र हामीलाई स्वीकार्य छैन ।
२०८० साल वैशाख १८ गते नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच भएको पार्टी एकता पूर्ण रूपले असफल र भङ्ग भएको घोषणा गर्दछौं। एक वर्षसम्म पनि विचारधारात्मक, सङ्गठनात्मक तथा भावनात्मक रूपले पनि एक गराउन नसकेकाले पार्टी एकता भङ्ग भएको हो ।
सिद्धान्तबाट सिद्धान्त, पार्टीबाट पार्टी, बहसबाट बहस, बैठकबाट बैठकको गोलचक्करलाई क्रमभङ्ग गर्दै मालेमावादी सिद्धान्तलाई जीवन-व्यवहारमा लागू गर्न पार्टीलाई जनतासंग जोड्‌दै जनताको नेतृत्व गर्न हामी तयार छौं।
कथित कम्युनिस्टहरूको विभ्रमबाट आमश्रमिक जनसमुदायलाई स्पष्ट पार्न प्रगतिशील, क्रान्तिकारी र सच्चा कम्युनिस्ट बन्ने अभियानमा लामबद्ध हुन हामी आह्वान गर्दछौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निरङ्कुश एवम् घोर सामन्तवादी प्रवृत्तिबाट ग्रस्त रहेको जानकारी गराउँछौं र उक्त समूहको कुनै पनि भ्रममा नपर्न सम्पूर्ण पार्टी-पक्ति, क्रान्तिकारी शक्ति र आमजनसमुदायमा आह्वान गर्दछौं ।
सम्पूर्ण क्रान्तिकारी, देशभक्त, सच्चा कम्युनिस्टहरूलाई क्रान्तिकारी ध्रुवीकरण र क्रान्तिकारी कदमका लागि हार्दिक आह्वान गर्दछौं ।
अकर्मण्यतावादी, मिहिन तथा छद्म सशोधनवादी, सारसङ्ग्रहवादी एवम् रूढ़िवादी कार्यदिशाले सदैव क्रान्तिलाई सुदूर भविष्यको विषय मात्र बनाउँछ । देश र जनताका दुस्मनका विरुद्ध निर्णायक र सशक्त क्रान्ति आवश्यक छ । त्यसका लागि सच्चा क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुन आवश्यक छ । यसर्थ, वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन हामी सबैलाई हार्दिक आह्वान पनि गर्दछौं ।’

प्रतिक्रियाहरु