पार्टी एकता र अमेरिकी हस्तक्षेप

२०८० चैत्र १९ गते, सोमबार

झपेन्द्रराज वैद्य

पार्टी एकता आफैमा राम्रो हो । अझ भन्ने हो भने छिया–छिया भएका कम्युनिष्टहरु एक ढिक्का हुनु झनै राम्रो हो । यहाँ त जसले पार्टी फुटाउँछ, उसैले कम्युनिष्टहरुको एकता हुनुपर्छ भन्छ । यो नराम्रो पक्ष हो । कुनै पनि चिजलाई पूर्वाग्रहले हेरिनु हुँदैन । डा. बाबुराम भट्टराईले निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गोर्खामा सघाएका थिए । यसरी एकताको मीठो अनुभूति हुन्छ तर पछि फुटको तीतो अनुभूति हुन्छ । तर गहिरिएर हेर्ने हो भने त्यो मिलनमा सिद्धान्त र विचार मिलेको छ कि छैन ? त्यो मिलनले फुट ल्याउँछ कि ल्याउँदैन ? यी कुराहरुको गम्भीर रुपले अध्ययन गर्नुपर्छ । अहिले सजातीय पार्टी एमाले, माओवादी तथा जसपाको एउटै गठबन्धन छ । यो राम्रो पक्ष हो । नाममात्र कम्युनिष्ट होइन, साम्राज्यवादीको दलाल नभए पार्टीको एकीकरण पनि हुनसक्छ ।

वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएपश्चात् दर्जनौं कम्युनिष्ट नामका पार्टीमा फूट भएको छ । रायमाझीले राजतन्त्रको पुच्छर समातेका हुन् । त्यसपछि पुष्पलाल हुदै मनमोहन, मदन भण्डारी, मोहनविक्रम सींह, पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य ‘किरण’ र विप्लवसम्म आइपुगेको छ । क्रान्तिको सबालमा किरणसँग मत भिन्नता भएपछि विप्लवले पार्टी पुनर्गठन गरी नेकपा स्थापना गरेको नयाँ इतिहास दर्ज भएको पाइन्छ । आहुती र ऋषि कट्टेल नेकपाको मोर्चामा आवद्ध छन् ।

एनसेलले अरबौंको कर राजस्वमा दाखिला नगरेपछि एनसेलको टावर ध्वस्त भएको हो । त्यसपछि नेकपा प्रतिबन्धित भएको हो झण्डै दुई वर्षसम्म । तीन बुँदे सहमतिपछि पनि अझै दर्जनौं कमरेड कारागारमा बसेको अवस्था छ । यसै क्रममा १० जना होनहार युवकको दःुखद निधन भएको छ । अहिले अमेरिकाले एमसीसीको माध्यमबाट नेपाललाई सोझै आक्रमण गरेको अवस्था छ । नेपाल युक्रेन हुनबाट बचोस् भनेरनै अन्तरराष्ट्रिय तहमा तालमेल हुन आवश्यक छ । तर नेपालको दलाल सरकारले युक्रेनलाई मान्यता दिइसकेको छ । यसैले नेपाल युक्रेन बन्ने सम्भावना छ तर नेपाल युक्रेन नबनोस् यही कामना ! विप्लवबाट स्थानीय चुनावको सबालमा धर्मेन्द्र बास्तोला र सुदर्शन वली पार्टीबाट अलग भएका हुन् । स्थानीय चुनाव कार्यनीतिक सबाल हो तर अधिवेशनमा चूपचाप रहेका साथीहरु अधिवेशनबाट बाहिर आउनासाथ सिद्धान्त र विचार एउटै भए पनि पार्टीबाट अलग भएको घोषणा गर्नु दुःखलाग्दो कुरा हो । आर्थिक हिसाब माग्ने सबालमा नै पार्टीबाट फुटेको बताइन्छ ।

प्रचण्डबाट कम्युनिष्ट एकताको लागि आह्वान गरिएको छ । यो राम्रो कुरा हो । तर साम्राज्यवादीले कम्युनिष्ट एक भएको हेर्न चाहदैनन् । उनीहरुलाई कम्युनिष्ट समाप्त पार्नु छ । अहिले अमेरिका, ब्रिटेन, जर्मनी आदि देशहरुले रुसको विरुद्ध युक्रेनलाई सहयोग दिइरहेको अवस्था छ । रुसले पनि साम्राज्यवादी हमला रोक्न युक्रेनमा आक्रमण गरिरहेको छ । अमेरिकाले सारा विश्व कब्जा गर्ने सपनामा रुस बाधक बनेको छ । रुस शक्तिशाली नभएको भए आजसम्म नेपाल समेत ससाना देशहरुलाई अमेरिकाले राख्दैनथ्यो । एमसीसीको सबालमा एकताका जनयुद्धका नायक प्रचण्डलाई समेत अमेरिकाले उठबस गराएको छ । संसदको फोहरी खेलमा विप्लव र किरण सहितका सच्चा कम्युनिष्टहरुले भाग नलिएको अवस्थामा प्रचण्डले व्याख्यात्मक भनेर एमसीसी पास गरेर पठाएका हुन् । तर अमेरिकाले व्याख्यात्मक शब्दलाई त्यति मानेको छैन । तर संसदवादीलाई टाङमुनि छिराइसकेको अवस्था छ ।

खुल्ला मंचमा   विप्लवको नेतृत्वमा एमसीसीको विरुद्ध ऐतिहासिक सभा भएको जगजाहरै छ । गाउँघर टोलटोलमा एमसीसीविरुद्ध जनता उर्लिएका हुन् । संसद भवनसम्म जनता नारा लगाउँदै पुगेका हुन् । तर हतियार सहितका सेना–प्रहरीले निहत्था जनतालाई रोकेका हुन् । अहिले फेरि अमेरिकाले अर्को कार्ड फालेको छ । त्यो हो– एसपीपी । अर्थात स्टेट पार्टनससिप, अहिले एसपीपी पास गराउने दाउँमा छ अमेरिका । दलाल नेताहरुले पनि मौका हेरिरहेका छन् । यस अवस्थामा पार्टीको एकीकरणको नाममा एमसीसी पक्षधरसँग मिल्न कति उचित होला ? कि त एमसीसीबालाले सार्वजनिक रुपमा एमसीसीको बिरोध गरेको स्टेटमेन्ट दिनसक्नुपर्छ । मोही माग्न जाने ठेकी लुकाउने भनेको यही हो । पार्टी एकीकरणको लागि यी सबै कुराको ख्याल गर्नुपर्छ ।

किन पार्टी फुटाइयो ? अब के गरेर समाधान हुन्छ ? त्यो कुरा जनतालाई बुझाई दिनसक्नुपर्छ । यो त नआफूले गर्न सक्ने न अर्कालाई गर्न दिने जस्तो भएन र ? तर यो पंक्तिकारले बुझेसम्म देखेसम्म महासचिव विप्लवको राजनैतिक यात्रा निरन्तर चलिरहेको छ । विभिन्न कार्यक्रमका साथ वैज्ञानिक समाजवादको यात्रा कैयौं गौडा गल्छेडा पार गर्दै एकीकृत क्रान्तिको बाटोबाट अगाडि बढिरहेको अवस्था छ । यो यात्रालाई साथ दिन तमाम देशभक्तहरुको खाँचो रहेको छ । उत्पीडित वर्ग, श्रमिक, किसान मजदूर तथा सम्पूर्ण न्यायप्रेमीहरुले साथ दिन जरुरी छ । अहिले हरेक कोणबाट अमेरिकाले नेपाललाई आक्रमण गरिरहेको छ । शिवपुरीमा अमेरिकन सेना तैनाथ गरिएको छ । मनोरञ्जनको नाममा हरेक क्रियाकलाप गरिएका छन् । नेपाल सरकारले यसको रोकथाम गर्नससक्नु पर्छ । अमेरिका नेपाललाई युद्ध मैदान बनाएर चिनलाई हिर्काउने दाउँमा छ । देशको स्वाधिनताका लागि सरकार सजक रहनुपर्छ । यसमा स्वाभिमानी नेपालीले साथ दिनुपर्छ ।

प्रतिक्रियाहरु