८ मार्च र हाम्रो दायीत्व

२०८० फाल्गुन २५ गते, शुक्रबार


सविता सी


विश्वका श्रमीक महिलाहरुले मुक्तिका लागि संघर्ष गरेर विजय प्राप्त गरेको दिन हो ८ मार्च । त्यसैले प्रत्येक वर्ष ८ मार्चको दिनलाई विश्वभरका श्रमीक महिलाहरुले हर्षोल्लासका साथ खुसियाली बाँडफाँड र नयाँ अधिकारका लागि थप संघर्ष गर्ने प्रतिवद्धता गर्ने दिनको रुपमा लिँदै आएका छन् । ८ मार्चको दिनलाई नेपालमा पनि श्रमीक महिलाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर भव्यतापूर्वक मनाउँदै आईरहको सन्दर्भ छ । त्यसैले आजको दिनमा सबैले स्थापित अधिकारहरुको रक्षा गर्दै, थप संघर्ष र नयाँ अधिकारहरुका लागि संघर्ष गर्ने प्रतिवद्धताको खाँचो छ । यो सन्दर्भमा हामी ११४ औ अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस मनाउन गइरहेका छौँ ।
सन् १८५७ मार्च ८ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहर अन्तरर्गत एउटा कपडा मिलका महिलाहरुले पुरुष सरह नै कामको ज्याला पाउनु पर्दछ भन्दै पहिलो पटक संगठित भएर आन्दोलन गरेका थिए । सन् १८६० मार्च ८ मा यीनै महिलाहरुले राष्ट्रियस्तरको पहिलो सम्मेलन सम्पन्न गरे । पेरिसमा सन् १८८९ मार्च ८ मा पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना भयो । अमेरिकाको सिकागो सहरमा सन् १८९७ मार्च ८ मा महिला अधिकारका लगि विशाल जुलुश, आमसभा र हडताल शुरु गरेका थिए । जुन आन्दोलनमा ८ घण्टा काम, पुरुष सरह कामको ज्याला, मातृशिशुको अधिकार, मजदुर युनियनमा महिलाहरुले पनि मताधिकारको व्यवस्था आदि मुख्य मागहरु थियो ।
न्यूयोर्कमा नै तत्कालिन समाजवादी आन्दोलनको सन् १९०९ फेव्रओरी २८ र सन् १९१० मा सम्पन्न अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनले महिलालाई पुरुष सरह अधिकार हुनुपर्ने, अन्तर्राष्ट्रिय रुपमा महिलाहरुले उठाउने गरेका आन्दोलनहरुमा सन् १९१० मा डेनमार्कको कोपनहेगेनमा अन्तर्राष्ट्रियस्तरको महिला दिवस मनाउने प्रस्ताव समाजवादी महिला नेतृ क्लाराजेट्किनले प्रस्ताव गर्नुभयो । फलस्वरुप सन् १९११ मार्च १९ मा प्रथम पटक अष्ट्रेलिया, डेनमार्क, जर्मनी, स्वीजरल्याण्ड जस्ता देशहरुमा लाखाँै महिलाहरुको सहभागीतामा प्रथम अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस भव्यताका साथ मनाईयो । उक्त दिवसमा महिलालाई मतदान गर्ने अधिकार, व्यवसायीक तालिम, महिलामाथिको विभेदको अन्त्य जस्ता मागहरु समावेश गरिएको थियो ।

महिला अधिकार प्राप्तिका लागि गरिएको आन्दोलनको निरन्तरतामा सन् १९१३, १९१४, र सन् १९१७ मा तत्कालिन शोभियत संघमा प्रथम विश्वयुद्धको विरोध स्वरुप रोटी र शान्तिको नारा सहित अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस भव्यताका साथ मनाए । क्लाराजेटकिन, रोजा लक्जम्वर्ग, टेरेशा मोल्किएलको नेतृत्वमा महिला मुक्तिको आन्दोलनले निरन्तरता पायो । जसले गर्दा हाल संसारभर ८ मार्चलाई श्रमीक महिला मुक्तिका लागि महत्वपूर्ण दिनको रुपमा मानिन्छ । सन् १९७५ मा संयुक्त राष्ट्रसंघले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा घोषणा ग¥यो र त्यसमा संसारका १८९ राष्ट्रहरुले हस्ताक्षर गरे । सन् १९९५ को बेजिङ घोषणा पत्रले प्रत्येक महिलाले राजनीतिमा भाग लिन पाउने, शिक्षा आर्जन गर्न पाउने, कुनै लैङ्गीक विभेद र हिङ्शाको शिकार नभै समाजमा स्वतन्त्ररुपमा बाँच्न पाउने अधिकार सहितको ऐतिहासिक निर्णय ग-यो ।

त्यस्तै सन् २००२ मा बसेका राष्ट्रसंघको महासभाले लक्षित गरेका सहश्रद्धी विकाश लक्ष्य लगायत, सबैखालका सम्मेलन तथा सन्धीले पनि सन् २०१५ सम्ममा लैङ्गीक आधारमा विद्धमान सबैखाले असमानताहरु हटाउन सरकारको संयन्त्रहरु, गैर सरकारी संस्थाहरु, नागरिक समाज, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघ संस्था र दातृपक्षले समेत आ–आफ्नो क्षेत्रबाट एक्लै वा समन्वयात्मकरुमा कार्य गर्ने लक्ष्य राखेको थियो । तर, संसारमा लैङ्गीक समानताको कुरा नारामा मात्र सिमित हुन पुग्यो । विभिन्न दातृनिकायहरुबाट हलर भित्रयाउने माध्यममात्र बन्यो । आज आन्तर्राष्ट्रिय श्रमीक महिला दिवस ८ मार्च वर्गीय पक्षधरतामा समेत विभाजन हुन पुग्यो । एकातिर पुँजीपति वर्ग र महिलाहरु पनि यसलाई फेसनको रुपमा नाममात्रको रुपमा नारी दिवसको नाममा मनाउन पुगे भने, अर्कोतिर विगतकै निरन्तरतामा श्रमजीवी महिलाहरु आफ्नो महिला अधिकार र मुक्तिको लागि नयाँ–नयाँ मागहरु र समानताको अधिकार स्थापित गर्ने आन्दोलनका रुपमा मनाउन पुगे ।
नेपालको सन्दर्भमा आज पनि दाईजो प्रथा, छाउपडी प्रथा, महिला बेचविखन, सामुहिक बलात्कार, हत्या, बोक्सीको आरोपमा कुटपिट हत्या, श्रम बजारमा उपभोग्य बस्तुको रुपमा महिलाहरु प्रयोग, सामाजिक अशुरक्षा, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकारहरुबाट व्न्चित, देह व्यापारको वाध्यता, पाश्चात्य संस्कृतिको प्रचार प्रसार र प्रर्वद्धनमा महिलाहरुको प्रयोग, कुरिती, कु–संस्कारको शिकारजस्ता अनगिन्ती समस्याहरु किन छ त आजको युगमा पनि हाम्रो समाजमा ! किनकी, संसारमा भूमण्डलिकृत पुँजीवाद छ । त्यसको जुठोपुरोमा हुर्किएको वा टिकेको दलाल पुँजीवाद छ । दलाल पुँजीवादी अर्थ प्रणाली छ, दलाल पुँजीवादी सामाजिक तथा राजनीतिक व्यवस्था छ । दलाल पुँजीवादी तथा सामन्ती सांस्कृतिक तथा धार्मिक व्यवस्था छ । दलाल पुँजीवादी भेवदवापूर्ण कानुन छ । त्यसैले यो दलाल पुँजीवादी व्यवस्थालाई जरैबाट उखलेर फाल्ने माग, एजेण्डा र विषयहरुसँग समेत ८ मार्चको सन्दर्भ जोडिन आउँछ ।


हामी श्रमजीवी महिलाहरुले विश्वका परिवर्तनशील आन्दोलनमा महिलाहरुको भूमिका, योगदान, त्याग, बलिदानसँग सँगै जोडेर निरन्तर महिला मुक्ति, अधिकार र वैज्ञानिक समाजवाद तथा साम्यवादको एजेण्डासँग जोडेर यो दिवसलाई मनाउँदै आएका छौ । आज संसारमा भूमण्डलिकृत पुँजीवादले विश्वलाई नै ठूलो असर पु¥याइरहेको छ । मुठ्ठिभर मानिसहरुको हातमा विश्वका अर्थतन्त्र केन्द्रित बनेको छ । सैन्य, राजनीतिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, विज्ञान, प्रविधि र आणवीक होडबाजी चलिरहको छ र संसारलाई आफ्नो मुठ्ठिमा ल्याउन हरदम कोशिस गरिरहेको छ । यस्तो अवस्थामा उत्पीडित जनता, राष्ट्र, श्रमीक महिला, श्रमीक वर्गहरु नयाँ ढंगले संगठित हुँदै जानुपर्ने र भूमण्डलिकृत पुँजीवादले सृजनागरेका अवरोधहरुलाई चकनाचुर पार्नुपर्ने आवश्यकता छ ।
जबसम्म संसारमा भूमण्डलिकृत पुँजीवाद रहन्छ तबसम्म श्रमीक जनताको अधिकारहरु स्थापित हुन सक्दैन । त्यसको लागि वैज्ञानिक समाजवाद र साम्यवादको स्थापना अनिवार्य रहन्छ । त्यसैले आजको सन्दर्भमा ८ मार्चलाई महिलाहरुको अधिकार र मुक्तिको नारामा मात्रै सिमित नराखेर राज्य, व्यवस्था बदल्ने र संसारमा वैज्ञानिक समाजवाद तथा साम्यवाद स्थापना गर्ने माग र सन्दर्भहरुसँग अनिवार्य जोड्नु पर्ने आवश्यकता छ र रहन्छ ।

प्रतिक्रियाहरु